सल्यान ५, असोज ।
पछिल्लो समय सल्यानमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो । अहिले जिल्लामा आयुर्वेदिक औषधिको प्रयोग गर्ने र आयुर्वेदिक उपचार पद्धति अवलम्वन गर्ने नागरिकको संख्या पनि बढ्दै गएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खलंगामा अहिले दैनिक रुपमा ३० जना सम्म सेवाग्राही आउने गरेको कार्यालयको भनाई छ । स्वास्थ्य केन्द्रका निमित्त प्रमुख, कविराज निरक्षक सञ्जय प्रसाद शाहले उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको र सेवा लिन आउने नागरिकहरुको संख्या पनि बढेको जानकारी दिनुभयो ।
‘आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो । अहिले कोरोनाले असर पारिरहेको अबस्थामा घरायसी जडिबुटि बेसार, अदुवा, टिमुर, गुर्जो लगाएतका रोगप्रतिरोधी क्षमता बढाउने जडिबुडिको प्रयोग विगतको तुलनामा अत्याधिक मात्रामा बढेको छ ’ उहाँले भन्नुभयो ।
उहाँले स्थानीयस्तरमै पाइने जडीबुटी निकै लाभदायक रहेको बताउनुभएको छ । कोरोना महामारीको यस अवस्थामा रोगप्रतिरोधात्मक क्षमता बढाउने स्थानिय जडिबुडीको माग पनि बढ्दै गएको उहाँको भनाई छ । ग्याष्ट्रिक, दम, खोकी, पिनास, बाथरोग, पायल्स, हाडजोर्नी दुखाई लगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राहीको संख्या बढेको उहाँले जानकारी दिनुभयो ।
‘आयुर्वेदिक औषधिको महत्वका बारेमा जानकारी हुन थालेपछि धेरै जसोले आयुर्वेदिक औषधि प्रयोग गर्ने गरेका छन् । आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको छ’ उहाँले भन्नुभयो । स्वास्थ्य केन्द्रमा कर्मचारीको दरबन्दी पुर्ण रहेको र आयुर्वेद चिकित्सक डा. हिरा बस्नेतबाट बिरामीहरुको स्वास्थ्य परिक्षण भैरहेको जानकारी दिनुभयो ।
ल्याव सेवा सञ्चालन गर्ने तयारी
स्वास्थ्य केन्द्रका निमित्त प्रमुख, कविराज निरक्षक शाहले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा ल्याव सेवा सञ्चालनको तयारी भैरहेको जानकारी दिनुभयो । उहाँले यसका लागि आवश्यक सामाग्री आइसकेको र आगामी कात्तिक देखी ल्याव सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । यहाँ आउने बिरामीलाई ल्याव परिक्षणका लागि बाहिर जाने बाध्यताको अन्त्य गर्दैछौँ उहाँले भन्नुभयो त्यसपछि झन् सेवाग्राही बढ्ने अपेक्षा गरेका छौँ ।
जनस्वास्थ्यबाट छुट्टियो आयुर्वेद स्वास्थ्य केन्द्र
साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य कार्यालय मातहतमा राख्ने निर्णय गरेको २ बर्षपछि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छुट्टिएको छ । कर्णाली प्रदेश सरकारले २०७६ भदौ ६ गते साविकका जिल्ला अस्पताल र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुलाई जनस्वास्थ्य सेवा कार्यालय मातहत मर्ज गर्ने निर्णय गरेको थियो ।
तर झण्डै २ बर्षपछि उच्च अदालत सुर्खेतले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई पुरानै अवस्थामा फर्काउन आदेश जारी गरेको छ । अदालतको आदेश सँगै कर्णाली प्रदेशका सबै जिल्लाहरुमा आयुर्वेद स्वास्थ्य केन्द्रहरु पुरानै अवस्थामा फर्किएका छन् । यससँगै स्वास्थ्य सेवा कार्यालय सल्यान मातहतमा गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान पनि परानै अवस्थामा फर्किएको छ ।