सल्यान १०, असोज ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत सल्यानका दश पालिका मध्ये दुइ वटा पालिकामा सहमति र ८ वटा पालिकामा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । गत भदौँ २१ गते जिल्लाका ८३ वटै वडाहमा वडाअधिबेशन गरेको काँग्रेसले शनिवार मात्रै पालिका अधिबेशन सम्पन्न गरेको हो ।
जिल्लामा पुर्व शिक्षाराज्य मन्त्री राजेन्द्र बहादुर शाह पक्ष र पूर्वकेन्द्रिय सदस्य डिल्लीराज रेग्मी तथा पुर्वसभापति गणेश चन्द गरेर दुइ धार रहेका छन् । ती मध्ये शाह पक्षबाट पार्टीको जिल्ला सभापतिमा केशबहादुर बिष्ट र रेग्मी चन्द पक्षबाट धुर्वराज पुरीले उम्मेदवारी दिने जनाइएको छ । यसरी हेर्दा पालिका तहमा पनि यही प्रभाव परेको छ ।
१० वटा पालिका रहेको सल्यानमा सबै पालिकाको मत गणना सम्पन्न हुँदा ५ वटा पालिकामा विष्ट र ५ वटा पालिकाको नेतृत्व धुर्वराज पुरी पक्षले लिएका छन् । जसअनुसार विष्ट पक्षबाट बागचौर नगर सभापति दिपेश डिसी, बनगाड कुपिण्डे नगर सभापति पुरुषोत्तम आचार्य, छत्रेश्वरी गाउ सभापति सिता केसी, कुमाख गाउँ सभापतिमा इश्वरी शाही र त्रिवेणी गाउ सभापतिमा गंगाराम पुन निर्वाचित हुनुभएको छ ।
यस्तै पुरी पक्षबाट शारदा नगर सभापति दिपक हमाल, कपुरकोट गाउ सभापति एकराज वली, दार्मा गाउँ सभापति कृष्ण वली, कालिमाटी गाउँ सभापति गणेश केसी, सिद्ध कुमाख गाउ सभापतिमा बीर बहादुर बुढाथोकी रहनुभएको छ । एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ ।