सल्यानमा एक बर्षको अवधिमा झण्डै ५ हजार मेट्रिक टन खाद्यान्नको ‘जाँड’ उत्पादन

[ घरको अन्नको जाँड : चामल किनेर भात ]

फाइल फोटो

सल्यान १२, असोज ।
सल्यानमा एक वर्षमा झण्डै पाँच हजार मेट्रिक टन खाद्यान्नको मादकपदार्थ बन्ने गरेको तथ्यांकले देखाएको छ । कृषि विकास कार्यालय सल्यानले तयार पारेको खाद्य तथ्यांकअनुसार जिल्लामा उत्पादन हुने कुल खाद्यान्नमध्ये चार हजार नौ सय ३७ मेट्रिक टन खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको पाइएको छ ।

मदिरा बनाउन मकै, कोदो र जौ अत्यधिक मात्रामा प्रयोग गरिएको कार्यालयले जनाएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा उत्पादित खाद्यान्नको तीन देखि सात प्रतिशतसम्म घरेलु मदिरा बनाउन प्रयोग हुन्छ । सल्यानमा झण्डै पाँच प्रतिशत खाद्यान्न मदिरा बनाउन प्रयोग भएको पाइएको छ ।

सल्यानमा घरायसी प्रयोजन र धेरथोर बिक्री वितरणका लागि घरेलु मदिरा उत्पादन भइरहेको छ । मदिरा बनाउने चलन पुरानै भएको र चाडपर्वमा घरेलु मदिरालाई विशेष महत्व दिने भएकाले मदिरा उत्पादन भइरहेको छत्रेश्वरी गाउपालिकाका स्थानीय जितेन्द पुनले बताउनुभयो । प्रायःले चाडपर्वलाई लक्षित गरेर घरेलु मदिरा बनाउँछन्, घरमै उत्पादित अन्न कुहाएर जाड बनाउने चलन छ पुनले भन्नुभयो तर हिजोआज चाडपर्वमात्रै होइन वर्षैभरि घरेलु मदिरा उत्पादन गरेर जीविकोपार्जन गर्न थालिएको छ ।

घरायसी प्रयोजनका लागि बनाइने मदिरा घरमै उत्पादित अन्नको हो । जुन मदिरा अधिकांश घरमै बनाइन्छ । बाह्रै महिना अन्न कुहाएर जाँड बनाउँदा उत्पादित स्थानीय अन्नबाली खेर जाने गरेको छ । गाउघरमा चाडवाड र कुनै पर्व विशेषका बेला बिक्रीका लागि बनाइने मदिरा पनि अन्नकै हुन्छ । जसले गर्दा स्थानीय उत्पादित ठूलोमात्राको अन्न जाड कुहाएर खेर गइरहेको छ ।

घरको अन्नको जाँड चामल किनेर भात
आफ्नै खेतबारीमा उत्पादन भएको मकै, कोदो, जौलाई कुहाएर मदिरा बनाउनेहरुले खानका लागि भने जिल्ला बाहिरबाट चामल किनेर ल्याउने गरेका छन् । धेरैजसोले घरको अन्नको मदिरा बनाएर खान्छन् । भात खानका लागि बाहिरबाट चामल किन्ने गरेका छन् । कतिपयले त घरको अन्नबाट मदिरा बनाएर बेच्ने अनि त्यो पैसाले चामल किनेर खाने गरेको देखिन्छ कालिमाटी गाउपालिका १ का अध्यक्ष रविलाल बस्नेतले भन्नुभयो स्थानीयस्तरमा उत्पादित पौष्टिक अन्नको मदिरा बनाउनेहरुलाई रोक्न सकिएको छैन, बुझाउन सकिएको छैन ।

पोषणको कुरा मात्रै छैन घर घरमा हुने मदिरा उत्पादनले आपराधिक र हिंसाजन्य गतिविधि पनि उत्तिकै बढाइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले पछिल्लो समय युवापुस्ताले बढी मात्रामा मदिरा प्रयोग गर्न थालेको बताउनुभयो । जसले गर्दा आपराधिक घटनालाई बल पुगेको छ ।

अधिकारकर्मी मीना बुढाथोकीले घरेलु मदिराको असर महिला तथा बालबालिकामा देखिएको बताउनुहुन्छ । समाजमा घरेलु हिंसा, झैझगडा, बलात्कारजस्ता घटनालाई बल पुगेको छ । तर घरेलु मदिरालाई स्थानीयले आयआर्जनको माध्यम बनाएकाले रोजगारीको अर्को विकल्प नहुदासम्म यसलाई नियन्त्रण गर्न गाह्रो हुने अधिकारकर्मी बुढाथोकीले बताउनुभयो ।

पशु आहारमा २९ हजार टन
सल्यानमा आर्थिक वर्ष २०७७।०७८ मा ९८ हजार सात सय ३९ दशमलव ३४ मेट्रिक टन खाद्यान्न उत्पादन भयो । त्यसमध्ये पशु आहारमा २९ हजार छ सय २१ दशमलव आठ मेट्रिक टन खाद्यान्न प्रयोग भएको छ । यस्तै ५५ हजार चार सय ९६ दशमलव पाँच मेट्रिक टन खाद्यान्न जिल्लाका नागरिकहरुले उपभोग गरेका छन् ।

सल्यानमा १६ हजार आठ सय १६ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको थियो भने ५८ हजार आठ सय ७४ दशमलव ८४ मेट्रिक टन मकै, २१ हजार सात सय ७२ दशमलव ६८ मेट्रिक टन गहुँ, एक हजार दश दशमलव ४९ मेट्रिक टन कोदो र दुई सय ६४ दशमलव ५९ मेट्रिक टन जौ उत्पादन भएको थियो ।

पछिल्लो समय जिल्ला खाद्यान्नमा आत्मनिर्भर बनेको कृषि विकास कार्यालयका सुचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । खाद्यबाली अन्तर्गत पर्ने धान, मकै, गहुँ, कोदो र जौँ बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको उहाँको भनाई छ । मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकरण तथा कृषकको सक्रियताको कारण सल्यान खाद्यान्न बचतको अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस