सल्यान १४, असोज ।
कर्णाली प्रदेशलाई लुम्विनी प्रदेशसँग जोड्ने सडकमार्गको रुपमा रहेको राप्ती लोकमार्ग जीर्ण बनेको छ । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्गले कर्णाली प्रदेशमा पर्ने सल्यान, रुकुम पश्चिम र जाजारकोटलाई लुम्विनी प्रदेशको राजधानी दाङसँग जोडेको छ । यसै मार्गको प्रयोग गरेर लुम्बिनी प्रदेश कै अर्को जिल्ला रोल्पा पनि जोडिएको छ । पहाडी जिल्लामा उत्पादन हुने अदुवा, सुन्तला, ताजा तरकारी लगाएत कृषिजन्य बस्तु निकासी हुने र बाहिरी जिल्लामा उत्पादन हुने खाद्यान्न लगाएतका अन्य सामाग्री भित्रिने ‘लाइफलाइन’ सडक राप्ती लोकमार्ग जीर्ण बनेको बर्षौ वितेको छ ।
दाङ—सल्यानको सिमाना चोरखोला देखी कपुरकोट सम्मको सडक दिनदिनै जीर्ण बन्दै गएको छ । भगवान भरोसमा गरिने यस यात्राले यस सडकखण्ड भएर हिड्ने सबै यात्रुहरु आजित भैसकेको स्थानिय पदम घर्तीले बताउनुभयो । उहाँका अनुसार सडक चौडाको नाममा खनिएको माटो सडकमै छ । सडक छेउमा पहिरो झरेको छ । सडकको माथि—माथिबाट पहिरो झरेर विच सडकमा नै थुप्रिएको छ ।
पानी परेको दिन हिलोले आजित हुने यात्रु, घाम लागेको दिन धुलोले आजित भैसकेका छन् । घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र बर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको सवारीचालक पारस शर्माले बताउनुभयो ।
यस सडक खण्ड भएर दैनिक सयौँ सवारीसाधनहरु आवतजावत हुन्छन् । तर जीर्ण सडकका कारण वालवालिका तथा बृद्धबृद्धा बढी प्रभावित भएका छन् । यस सडकखण्ड भएर बहालवाला मन्त्री, पुर्वमन्त्री, सांसद, जनप्रतिनिधि, सिडियो देखी सडक डिभिजन कार्यालयका कर्मचारी नियमित जस्तै आवातजावत गर्छन् । तर यसको मर्मत तर्फ कसैको चासो गएको छैन् ।
बर्षात शुरुभएसँगै सल्यान–दाङको सिमाना देखी कपुरकोट तर्फको भागको सडक चौडाको काम बन्द गरिएको थियो । सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले यस सडकको तत्कालै स्तरोन्नती तथा मर्मत सम्भारको कामको थालनी गरिने जानकारी दिनुभयो । उहाँले बर्षातका कारण केही समस्या भएपनि दशैँ तिहारको समयमा सहज आवातजावत हुने गरी काम गरिने बताउनुभयो ।