सल्यानको प्रसिद्ध खैराबाङ भगवती मन्दिर बडादशैँमा खुल्ला

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुजापाठ गरिदैँ

सल्यान २१, असोज ।
सल्यानको धार्मिक तथा पर्यटकिय स्थलको रुपमा परिचित खैराबाङ भगवतीको मन्दिर यस बर्षको बडादशैँमा खुल्ला भएको छ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण गत बर्षको बडादशैँमा बन्द रहेको यस मन्दिर यस पटक भने कोरोनाको जोखिम कम हुदैँ गएको र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर भक्तजनहरुको लागि मन्दिर खुल्ला गरिएको हो ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ११ मा अबस्थित खैराबाङ भगवती मन्दिर सँगै जिल्लाभरका अरु शक्तिपिठहरु पनि खुलेका छन् । कोरोनाका कारण सुनसान बनेको खैराबाङ भगवती मन्दिर खुल्ला भएसँगै भक्तजनहरुको भिड लागेको छ । यस मन्दिरमा घटस्थापनाका दिन देखी कोजाग्रत पुर्णिमाका दिन सम्म बलि चढ्ने गर्दछ ।

हिन्दु नेपालीको आस्थाको धरोहर रहेको खैराबाङ भगवती मन्दिरमा हरेक बर्ष बडादशैँ र चतैँदशैँमा बिशेष मेला सहितको पुजाआजा हुदैँ आएको छ । कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरेर सर्वसाधारणहरुको लागि मन्दिर खुल्ला गरिएको खैराबाङ भुवनेश्वरी मन्दिर धार्मिक क्षेत्र विकास समितीका अध्यक्ष छबि कुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसारमा खैराबाङ भगवती मन्दिरमा बर्षेनी करिब डेढ लाख भक्तजनले दर्शन गर्छन् । गत बर्ष कोरोनाका कारण मन्दिर भक्तजनका लागि बन्द रहेकाले यस पटक भक्तजनहरुको संख्या बढ्ने उहाँको भनाई छ । यस बर्ष पशु बलीको टाउकाको लागि ठेक्का लगाएको छ । जसमा १३ लाख ६ हजार ४ सय रुपैँयमा शारदा नगरपालिका १० मधानाका गगन कवरले ठेक्का लिनुभएको छ । बली, सहयोग रसिद र भेटिबाट गरेर झण्डै २० लाख रुपैँया आम्दानी हुने अनुमान गरिएको छ । जसबाट मन्दिर संरक्षण, व्यवस्थापन तथा प्रचारप्रसारमा खर्च हुदैँ आएको थियो ।

धार्मिक शास्त्र अनुसार खैराबाङ भगवती मन्दिर नेपालमा रहेका ५१ पीठ मध्येको एक पवित्र मन्दिरका रुपमा चिनिन्छ । वि.सं. १४८० देखि मन्दिरमा पूजाआजा शुरु गरेको किम्बदन्तीमा उल्लेख छ । विशेषगरी बडादशैँ तथा चैते दशैंमा पञ्चबलिका रुपमा राँगा, बोका, साँडा, परेवा र हाँसको बलि दिई भव्य रुपमा पुजा आराधना गर्ने प्रचलन रहेको छ ।

साथै घटस्थापनाका दिनदेखी कोजाग्रत पूर्णिमाका दिनसम्म यहाँ निरन्तर रुपमा दर्शनार्थीहरुको भिड लाग्छ । मन्दिर दर्शन गर्न सल्यान सँगै दाङ, रूकुम, रोल्पा, प्युठान, बाँके, वर्दिया, सुर्खेत, कैलाली, दैलेख र जाजरकोट लगायत भारतका विभिन्न स्थानबाट समेत भक्तजनहरू आउने गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस