सल्यान २४, असोज ।
सल्यान कविता संग्राम २०७८ मा जिल्लाको दार्मा गाउँपालिकाकी मिना खड्का प्रथम हुुनुभएको छ । शनिवार जिल्लाको सदरमुकाम खलंगामा आयोजित टप ५ फाइनल स्टेज कार्यक्रममा सबैलाई पछि पारेर खड्काले प्रथम स्थान हासिल गर्नुभएको हो ।
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानद्धारा आयोजित कविता संग्राम कार्यक्रममा जिल्लाका २१ जनाले भाग लिएका थिए । प्रतियोगिताको द्धितियमा छविकिरण अधिकारी, तृतियमा आमोद शरण गौतम, चौथोमा कृष्ण कन्चन र पाँचौँमा रमेश कार्की आउनुभएको छ । प्रतियोगतामा बिभिन्न स्थान हासिल गर्ने सबैलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
कला साहित्य र संस्कृतिलाई निरन्तर प्राथमिकतामा राख्दै थप साहित्यिक उजागरका लागि यस प्रतियोगिता सञ्चालन गरिएको परिषदका अध्यक्ष प्रविण भण्डारीले बताउनुभयो । पछिल्लो समय कविता लेखन कार्यमा सबैको चासो घट्दै गएको अवस्थामा स्रष्टाहरुलाई प्रोत्साहन गर्न र कविता लेखन कार्यमा सबैलाई आकृषित गर्न यस कार्यले टेवा पुग्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिका उपप्रमुख सावित्रा बस्नेतले साहित्य क्षेत्रको जगेर्ना गर्नको लागि यस प्रतियोगिता महत्वपुर्ण हुने बताउनुभयो । उहाँले आगामी दिनहरुमा पनि यस्ता खालका कार्यलाई निरन्तरता दिनुपर्ने र आवश्यक साथ र समन्वय गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशवसिंह श्रेष्ठ, परिषदका सल्लाहकार मौषमदास श्रेष्ठ, प्रतिक इच्छुक शर्मा लगाएतले बोल्नुभएको थियो । परिषदका उपाध्यक्ष इन्द्र भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममको सञ्चालन सचिव तारादेव शर्माले गर्नुभएको थियो ।