जङ्गलमा फिरन्ते जीवन बिताउदैँ आएका राउटेको संख्या घट्दै

‘असन्तुलित खानपान र मदिरा प्रतिको मोह मुख्य कारण’

सल्यान २४, असोज ।
जङ्गलमा फिरन्ते जीवन बिताउदैँ आएका राउटेको संख्या घट्दै गएको छ । मदिराको अत्याधिक प्रयोग, परम्परागत जीवनशैली, बिरामी हुदाँ घरेलु उपचार पद्धति, असन्तलित खानपिन र संस्कृतिमा बाह्य प्रभावका कारण राउटेको संख्या घट्दैको गएको हो । मध्यपश्चिमको सल्यान, जाजारकोट, दैलेख, सुर्खेत र दाङलाई मुख्य थलो बनाएर बस्दै आएका राउटे हाल सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाटगाउँमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ का लागि राष्ट्रिय जनगणना कार्यालय सल्यानले गरेको घरधुरी तथा घरपरिवार सर्वेक्षणका क्रममा राउटे समुदायमा ४२ घरधुरी रहेको पाइएको छ । जसमा महिला ७४ जना र पुरुष ६६ जना गरेर १ सय ४० जना रहेका रहेका छन् । राउटे समुदायमा पनि कल्याण, रासकोटी र समाल गरेर तीन जाती रहेका छन् । जिल्ला बिकास समिती दैलेखले २०६३ सालमा गरेको गणना अनुसार राउटेको संख्या १ सय ६० रहेको थियो ।

तर २०६८ को जनगणनामा राउटेको जनसंख्या ६ सय १८ भएको देखिन्छ । राउटे समुदायका जानकारहरुले भने अहिले सम्मको तथ्यांकलाई हेर्दा राउटेको कुल जनसंख्या १ सय ६० सम्म मात्रै पुगेको बताउँछन् । राउटे समुदायका जानकार तथा पत्रकार भक्त बहादुर शाहीले पछिल्लो समय राउटेको जनसंख्या घट्दै गएको बताउनुहुन्छ । अस्वस्थ्य खानपान र मदिरा प्रतिको मोहको कारण जनसंख्या घटेको उहाँको भनाई छ ।

‘काठका भाडाकुडा बनाएर जीवन निर्वाह गर्दै आएका राउटेहरु पछिल्लो समय अरु समुदायसँग पनि घुममिल हुदै आएका छन्, यसले उनीहरु माथि नै प्रहार भैरहेको छ, वजारमा पाइने मदिरा सेवन गर्ने, सिकार खेल्न जादा भिर बाट लडेर तथा अस्वथ्य खानाका कारण उनीहरुको मृत्यु भैरहेको छ’ उहाँले भन्नुभयो ‘सरकारले उनीहरुको संस्कृतिमा खलल् नपुग्ने गरेर अनुसन्धान गरोस, उनीहरुले बनाएका काठका भाँडा बिक्रीको व्यवस्था मिलाओस, जलंगलमा पाइने काठ काट्नमा कुनै रोक नलगाओस ।’

बाह्य संस्कृतिको प्रभावका कारण पछिल्लो समय राउटे जाती नै संकटमा परेको उहाँको दावी छ । ‘राउटे जातीलाई राउटे नै भएर बाँच्न दिनुपर्छ, यसमा कुनै पनि पक्षले हस्तक्षेप गर्नुहुदैन्, केही संस्थाले कमाइ खाने भाँडो बनाएका छन् भने सरकारी तवरबाट केही काम नै भएको छैन’् उहाँले भन्नुभयो ‘सरकारले भत्ता मात्रै दिने गरेको छ, यसले उनीहरुको संरक्षण हुन सक्दैन् ।’

राउटे समुदायका अधिकांश बालबालिकामा कुषोषणको समस्या देखिएको छ । सानो उमेरमा नै मदिराको लत, ठाउँ ठाउँको बसाइसराई, असन्तुलित खाना र परम्परागत जीवनशैलीका कारण यसको असर राउटे समुदायका बालबालिकामा परेको देवस्थल स्वास्थ्य चौकी कि इन्चार्ज भुमा वलीले बताउनुभएको छ । केही दिनअघि राउने बस्तीमा गरिएको चेकजाँचका क्रममा पोषणको कमी, छाला सम्बन्धि चिलाउने रोग, खोकी, ज्वरो लगाएतका समस्या भेटिएको उहाँको भनाइ छ ।

राउटे समुदायलाई बिभिन्न निकायले प्रदान गरेको सामाग्रीहरु बिक्री गरेर मदिरा सेवनमा खर्च गर्दा थप समस्या आएको सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई बताउनुहुन्छ । राउटेको लागि बिभिन्न निकायबाट प्राप्त भएको टेन्ट, त्रिपाल लगाएका सामाग्रीहरु बेचेर मादक पदार्थ सेवनमा पैसा खर्च गरेको पाइएको उहाँले बताउनुभएको छ ।

‘प्रहरी र नगरपालिका सँग समन्वय गरेर ती सामाग्री बिक्री गर्न प्रतिवन्ध गरेका थियौँ, तर अरु जिल्लाका बजारमा लिएर सस्तो मुल्यमा बिक्री गरेर मादक पदार्थ सेवनमा खर्च गरेको पाइएको छ’ उहाँले भन्नुभयो ‘सरकारी तवरबाट प्रदान गरिएको भत्ताले नै उनीहरुको जीवन निर्वाह गर्न पर्याप्त हुन्छ, तर उनीहरु विलासिता तर्फ बढी केन्द्रित भएको पाइएको छ ।’ लोपोन्मुख अवस्थामा रहेका राउटेहरुको संरक्षणमा सरकारी तवरबाट राम्रो प्रयास भएको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस