सल्यान २४, असोज ।
सल्यानको कपुरकोट गाउँपालिका ५ रिममा रहेको जीवन ज्योती माध्यामिक विद्यालयमा अध्ययनरत उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरिएको छ । बिद्यालयमा स्थापना गरिएको मणि स्मृति फाउन्डेसनद्धारा विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो । स्वर्गीय आमा मणि पुनको सम्झनामा छोराहरु पुरभान पुन, डम्वर पुन, दुर्गा पुन र छोरी डिला पुनले यस बिद्यालयमा मणि स्मृति फाउन्डेसन स्थापना गर्नुभएको थियो ।
सोही फाउन्डेसन अन्र्तगत अक्षयकोष स्थापना गरी २०७३ साल देखि निरन्तर रुपमा कक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुका साथै सामाजिक, शैक्षिक, पूर्वविद्यार्थी र कृषि क्षेत्रबाट उल्लेखनीय कार्य गर्ने समाजका अग्रणी व्यक्तित्वहरुलाई सम्मान गरिएको आएको जनाइएको छ । हरेक वर्ष जेष्ठ १ गतेका दिन मणि स्मृति दिवसको अवसर पारी कार्यक्रम संचालन गर्दै आएकोमा कोरोनाको कारण दुई वर्ष देखी वितरण गर्न नसकी स्थगित रहेको उक्त सम्मान तथा पुरस्कार वितरण यस पटक गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा पुनको अध्यक्षता एवं कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला वुढा मगरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा २०७६ र २०७७ सालमा कक्षामा उत्कृष्ट तीन स्थान हासिल गर्ने विद्यार्थिहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको छ । यस्तै सामाजिक क्षेत्रवाट यम कुमार वस्नेत र डण्डविर सेन, पूर्व विद्यार्थीको क्षेत्रवाट डा. प्रेम योगी र गोकर्ण वली, शैक्षिक क्षेत्रवाट लोक बहादुर वस्नेत र भुपाल शाहु र कृषि क्षेत्रवाट युवराज रावत र तेज बहादुर खत्रीलाई सम्मान गरिएको छ ।
सोही अवसरमा विद्यालयले कपुरकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा विभिन्न स्थान हासिल गरी विद्यालयलाई प्रथम स्थान दिलाउन सफल खेलाडी बिद्यार्थीहरु र खेल समितिलाई सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला वुढा मगर, भद्रसिंह वुढा, डा. पे्रम योगी, डम्वर पुन, लोक बहादुर वस्नेत, गोकर्ण वली, भुपाल शाहु, डण्ड विर सेन लगाएतकाले बोल्नुभएको थियो । फाउन्डेसनले आफूले स्थापना गरेको अक्षय कोष वृद्धि गरि चालु आर्थिक वर्ष भित्र कोषको रकम तीन लाख साठी हजार पुर्याउने घोषणा गरेका छ ।यस्तै यस विद्यालयका पूर्वविद्यार्थी डा. प्रेम योगीले आफ्नो धर्म पत्नी प्रेमा योगीको सम्झानामा ७५ हजारको अक्षकोष स्थापना गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक मदन खडकाले गर्नुभएको थियो ।
भद्रसिंह वुढाद्धारा लिखित समृद्ध आमा नेपाल खण्ड काव्यको लोकार्पण
साहित्यकार तथा राजनितिज्ञ भद्रसिंह वुढाद्धारा लिखित खण्ड काव्यको लोकार्पण गरिएको छ । जीवन ज्योती माध्यामिक विद्यालय रिमको प्रांगणमा भएको कार्यक्रममा बुढाद्धारा लिखित समृद्ध आमा नेपाल नामक खण्ड काव्यको लोकार्पण गरिएको हो । कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला वुढा र डा. प्रेम योगीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भएको थियो । यस्तै पुस्तकको समीक्षा त्रिभुवन विश्व विद्यालयका अनुगमन निर्देशनालयका सदस्य डम्वर पुनले गर्नु भएको थियो ।