सल्यान प्रहरीद्धारा चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन

सल्यान २६, असोज ।
सल्यान प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको छ । नेपालीहरुका महान पर्व दशैँ तिहार जस्ता चाडपर्वको अवशरमा हुनसक्ने चोरी, लुटपाट लगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेर लागु गरेको हो । कोरोना भाइरसको जोखिम कायमै रहेको अवस्थामा दशैं, तिहार लगायतका पर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सल्यानले चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालन गरेको जनाएको छ ।

चाडपर्वमा हुनसक्ने अपराधिक गतिविधि, चोरी, हत्या र सवारी दुर्घटनालाई मध्यनजर गर्दै तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न थालिएको सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द थापाले जानकारी दिनुभयो । ‘कसरी मर्यादित, व्यवस्थित र सुरक्षित तवरले सबैले चाडपर्व मनाउन सक्छन् भनेर हामीले विशेष सुरक्षा योजना लागु गरेका छौँ’ उहाँले भन्नुभयो ‘सल्यानका बजारी क्षेत्र तथा ग्रामिण क्षेत्रहरुमा बिशेष योजना लागु गरेका छौँ ।’

उहाँले जिल्लाको राप्ती राजमार्ग सँगै मुख्य सडक खण्डमा हुनसक्ने अप्रिय घटनाहरुलाई रोक्नको लागि प्रहरी सक्रिय भएर लागेको बताउनुभयो । जिल्लामा रहेको ३४ वटै प्रहरी युनिटहरुबाट चाडपर्व केन्द्रित सुरक्षा योजना सञ्चालन गरिएको उहाँको भनाई छ । उहाँका अनुसार उक्त सुरक्षा योजनाअनुसार सार्वजनिक यातायातका साधनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइने र आवतजावतका क्रममा यात्रु ठगिने तथा हैरानी खेप्ने अवस्था आउन नदिन यहाँका विभिन्न ठाउँमा प्रहरी परिचालन गरी चेकजाँच गर्न थालिएको छ ।

यसैगरी जिल्लाको सदरमुकाम खलंगा, श्रीनगर, थारमारे, सल्लीवजार, कपुरकोट लगाएतका मुख्य बजार क्षेत्रमा चौबिसै घण्टा प्रहरी खटिने व्यवस्था मिलाइएको छ भने प्रमुख व्यापारी केन्द्रहरु चाडपर्व लक्षित नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ । जिल्लाका धार्मिकस्थलहरूमा हुने भक्तजनको भीडभाड, चोरी, लुटपाट, झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव लगायतमा पनि प्रहरीले विशेष निगरानी बढाएको उहाँले बताउनुभयो ।

जिल्लामा जुवा, तास खेल्ने र मदिरा सेवन गर्ने कार्य रोक्नका लागि प्रहरीले निरन्तर अनुगमन गर्ने गरी प्रहरी परिचालन भएको छ । महिला, बालबालिका, अशक्त, ज्येष्ठ नागरिक विरुद्ध हुन सक्ने अपराध रोकथाम तथा नियन्त्रणका साथै आर्थिक कारोबार हुने स्थानमा चेकजाँच सुरु गरिएको प्रहरीले जनाएको छ । साथै सुरक्षित एवं भयरहित वातावरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय सल्यानले सबैमा आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस