१५ जिल्ला देख्न सकिने सल्यानको ‘कुमाख’ : आज मेला लाग्दै

सल्यान ३, कार्तिक ।
सल्यान जिल्ला प्राकृतिक, धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपूर्ण जिल्ला हो । यस जिल्लाको पहिचान झल्काउन यहाँका लेखबेशी, पाखापखेरा, तालतलैया, मठमन्दिर, जडीबुडी आदीले महत्वपूर्ण भूमिका खेलेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका र कुमाख गाउँपालिकाको विचमा रहेको जिल्ला कै सबैभन्दा अग्लो कुमाख लेक सल्यानीको पहिचान संग जोडिएको छ । कुमाख लेकबाट नेपालका १५ वटा जिल्ला देख्न सकिने स्थानियले बताएका छन् ।

यस्तै यस लेकबाट नेपालगञ्ज र भारतको रुपैडिया सम्मका दृश्य देख्न सकिन्छ भन्ने बिश्वास रहेको स्थानिय रुपलाल चलाउनेले जानकारी दिनुभयो । ‘कुमाखबाट पुर्वका धौलागिरी, सिस्ने, पुथा लगायत हिमाली क्षेत्रका अधिकांश हिमाल हेर्न सकिन्छ भने कुमाखबाट एकै पटक हिमाल देखि तराइसम्म अवलोकन गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘पुर्खाको भनाइ अनुसार भारतको रुपैडिया सहित नेपालका १५ जिल्ला देख्न सकिन्छ ।’

‘समुन्द्री सतहबाट झण्डै २५ सय मिटर उचाइमा रहेको कुमाख लेक प्राकृतिक रुपले सुन्दर छ, यहाँबाट बिभिन्न जिल्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ, यसलाई पर्यटकिय गन्तव्यका रुपमा बिकास गर्न सकियो भने अझ राम्रो हुन्छ’ उहाँले भन्नुभयो ‘लेकको थान टाकुरी सम्म पुग्ने बाटो, खानेपानी आदीको व्यवस्था गर्न सकियो भने पर्यटनको एक गन्तव्य बन्छ ।’ कुमाखलाई स्थायिन सिद्ध गुफा, स्थानिय संस्कृति, जडिवुटी, वनस्पती आदीसँग जोड्नुपर्ने उहाँको भनाई छ ।

यस कुमाख लेकका विभिन्न स्थानमा आकर्षक गुफा रहेको र जुन पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने स्थानियले बताएका छन् । कुमाख पहाडमा पहाडी जंगलमा महत्वपूर्ण जडिवुटी, वनस्पती र फूलहरुका साथै चराचुरुंगी र जनावरहरु पनि पाइन्छन । दशैमा पञ्चमी देखि कोजाग्रत पुर्णीमाको दिनसम्म सिद्ध मन्दिरमा पुजाआरधना हुने गर्छ । भने कोजाग्रत पुर्णीमाका दिन कुमाखको फेदीमा कुमाखको मेला लाग्ने गर्दछ ।

यो मेला जिल्ला कै ठुलो र पुरानो मेला हो । कुमाख मेलाले कुमाख लेकको संरक्षण, प्रर्वद्धन, प्रचारप्रसारमा टेवा पुगेको सिद्धकुमाख गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष रुद्र बहादुर बुढाथोकीले बताउनुभयो । मेलामा नाचिने सोरठी, पैसेरी, बन्गाडि टप्पा, झाप्रे, सरिंगे जस्ता नाचले यसको महत्व झन् बढाएको उहाँको भनाई छ ।

उहाँले कुमाख लेक सम्म पुग्नको लागि पैदल मार्ग निर्माणको लागि पहल भैरहेको बताउनुभयो । ‘यसलाई पर्यटन सँग जोड्नु पर्दछ, तीनै तहको सरकारले यसमा ध्यान दिनु आबश्यक छ’ उहाँले भन्नुभयो । पूर्वाधारका अरु क्षेत्रमा जस्तै पर्यटनमा लगानी गर्न सके कुमाख लेकमा थुप्रै सम्भावना भएको उहाँको भनाई छ ।

विगतमा कोरोनाका कारण कुमाख मेला स्थगित भएपनि यस बर्ष भने मेला लाग्ने भएको छ । पुर्णिमाको दिन बुधबार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर मेला लगाउने तयारी गरिएको जनाइएको छ । यस्तै पूर्णीमा कै दिन सल्यानको चाँदनी साततले गुफा लेखपोखरा, पाथीभरा र पिपलनेटा लगाएतका स्थानमा पनि मेला लाग्ने स्थानियको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस