बर्षाले सल्यानमा ८ हजार ३ सय मेट्रिक टन धानको क्षती

सल्यान ३, कार्तिक ।
लगातारको बर्षातका कारण सल्यानमा झण्डै २८ प्रतिशत धानमा क्षती पु¥याएको पाइएको छ । आइतवार देखी परको अविरल बर्षातका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानमा क्षती पुगेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ । बर्षाले धान वालीमा पु¥याएको क्षतीको अनुमानित विवरण सार्वजनिक गर्दै कार्यालयले जिल्लाभर ४४ दशमलव ५० प्रतिशत धान काट्न बाँकी रहेको जनाएको छ ।

यस्तै हालसम्म जिल्लाभर २८ दशमलव ६५ प्रतिशत मात्रै धान भित्र्याइएको तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लाभर ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा जिल्लाभर ३० हजार ५६ मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको थियो । तर बर्षातका कारण ८ हजार ३ सय ७० मेट्रिक टन धान भिजेर क्षती भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । तर पुर्ण रुपमा क्षती भएको भन्न नमिल्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार ८ हजार ६ सय १० मेट्रिक टन धान किसानले भित्र्याइ सकेका छन् भने १३ हजार ३ सय ७४ मेट्रिक टन धान काट्न बाँकी रहेको छ । उहाँले सबै भन्दा धेरै सिद्ध कुमाख गाउँपालिकामा र सबैभन्दा कम कपुरकोट गाउँपालिकामा धान भिजेको बताउनुभएको छ । यस्तै सबैभन्दा धेरै दार्मा गाउँपालिकामा धान भित्र्याइएको पाइएको छ भने कम बन्गाड कुपिण्डे नगरपालिका र कपुरकोटमा रहेको छ ।

यस्तै सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकामा धान काट्न बाँकी रहेको छ भने सबैभन्दा कम कालिमाटी गाउँपालिकामा रहेको छ । गत बर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो । जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान खेती गर्दै आएका छन् ।

कार्यालय प्रमुख आचार्यले धान भित्र्याउने समयमा परेको बर्षाका कारण जिल्लामा यस बर्ष धान उत्पादन घट्ने बताउनुभएको छ । निरन्तरको बर्षाका कारण किसानले काटेको धान कुहिने र धान उत्पादन घट्ने उहाँले बताउनुभयो । पाकेको धान भित्र्याउने बेला वर्षा भएपछि जिल्लाका किसानहरु चिन्तित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस