सुन्दर कुमाख लेक : लेकको फेदमा कुमाख मेला [ फोटो फिचर ]

“सल्यान चिनाउने हाम्रो अभियान”

 

सल्यान ३, कार्तिक ।
कोजाग्रत पूर्णीमाको अवसरमा सल्यानको कुमाख गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकाको सिमानामा पर्ने जिल्लाको दोस्रो अग्लो पहाडका रुपमा परिचित कुमाख लेकको फेदमा जिल्लाकै सबैभन्दा ठूलो कुमाख मेला लाग्ने गर्दछ । प्राकृतिक, धार्मिक एवं सांस्कृतिक हिसाबले उत्कृष्ट मानिएको कुमाख क्षेत्र पर्यटकिय हासबले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।


समुन्द्री सतहबाट २ हजार ५ सय ३७ मिटर उचाइमा रहेको कुमाख लेकमा पुग्न, कुमाख मेला लाग्ने स्थान देखि करिब २ घण्टा पैदल मार्ग भएको उकालो बाटो हिड्नुपर्छ । जंगलको ठाडो उकालो बाटो हिड्दै गर्दा थकाइ लागेर बसेका जोकोहीलाई यहाँको प्रकृतिमा भएको बासनादार बहारले छिनभरमै थकाइ मेटाइदिन्छ । कुमाख लेकको चुचुरोमा सिद्ध मन्दिर साथै नजिकै सिद्ध गुफा समेत रहेको छ । कुमाख पहाडको आसपासमा विभिन्न जडिवुटी, वनस्पती, विभिन्न चुन ढुंगाहरु, फूलहरुका साथै चराचुरुंगी र विभिन्न जनावरहरु समेत पाइने गर्दछन् ।


मौसम सफा भएको खण्डमा कुमाख लेक बाट सल्यान जिल्लाका विभिन्न ठाउँहरुका साथै पश्चिम नेपालका करिब १५ जिल्लाका भू–भागहरु, मुस्कुराईरहेका सिस्ने र धौलागिरी हिमाल लगायतका विभिन्न हिमश्रृङ्खला, पहाड, पर्वत, पाखापखेरा र तराईका समथर मैदानहरुको समेत अनुपम दृश्यावलोकन गर्न सकिन्छ ।
कुमाखको फेदमा परापुर्बकाल देखि लाग्दै आएको कुमाख मेलालाई सल्यानको कला र सस्कृती सँग पनि जोडेको पाइन्छ । झ्याउरे नाच, टप्पा नाच, सेरेङगे नाच, सोरठी जस्ता नाचहरु यो मेलामा केही बर्ष अगाडि प्रमुख आकर्षण हुने गर्दथिए । तर समय परिवर्तन सँगै अहिले कुमाख मेलामा यी नाचहरु लोप हुदै गएको देख्न सकिन्छ । वरिपरी पहाडका अग्लाहोचा थुम्का, हरियो वनजङ्गल, रोटे पिङ, जेरी, केरा, बदाम, विभिन्न फलफूल लगाएत अन्य चिजबस्तुहरु पाईनु नै यो मेलाका मुख्य बिशेषता हुन ।


कुमाख मेला हेर्न जिल्लाका विभिन्न ठाउँ लगायत छिमेकी जिल्ला दाङ, रोल्पा, सुर्खेत, जाजरकोट र रुकुम आसपासका जिल्ला बाट समेत मानिसहरु यहाँ मेला हेर्न आउने गर्दछन् । कोरोना भाइरसको महामारीका कारण गत वर्ष लाग्न नसकेको मेला यो वर्ष लागे पनि केहिदिन यता सल्यान लगायत देशका विभिन्न भागमा अत्याधिक पानी परिरहेका कारण पनि मेलामा मानिसहरुको संख्या न्युन भएको हो ।


कुमाख लेकमा स्थानिय सरकारले आन्तरिक तथा बाहिरिय पर्यटकका लागि विभिन्न भौतिक संरचनाहरु तयार पार्नुपर्ने देखिन्छ । मेला सम्म जाने बाटोलाई स्तरोन्नति गरेर, पैदल मार्गलाई अझै व्यबस्थित गरि यहाँको सांस्कृतिलाई समेत संरक्षण गर्ने सकेको खण्डमा कुमाख क्षेत्र सल्यान जिल्लाकै मुख्य पर्यटकिय हव हुनेमा दुईमत छैन ।त्यसैले त यहाँको प्रकृतिले सदाबहार अलौकिक हासो हासिरहेछ । कुमाख लेक अझै पर्यटको पर्खाइमा बसिरहेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित