सल्यान ७, कार्तिक ।
सल्यानका साढेँ २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २४ हजार ५ सय ८४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यस्तै २१ हजार ६ सय ८९ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार छ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैँ छ । यस्तै एक देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ । जसका लागि जिल्लाका दश वटै स्थानिय तहमा गरेर ४ सय २३ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।
स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ । सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लैजाँदा अभिभावकलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिएको छ । वितरण केन्द्रमा भीडभाड नगर्न, एक व्यक्ति र अर्को व्यक्तिबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्न, आफ्नो र बालबालिकाको सुरक्षाका लागि अनिवार्यरूपमा मास्कको सही तरिकाले प्रयोग गर्न र साबुनपानीले पटक–पटक हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य सेवा कार्यालय सल्यानले आग्रह गरेको छ ।