सल्यानमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सञ्चालन

२० जना पत्रकारलाई तालिम प्रदान

सल्यान ९, कार्तिक ।
सल्यानमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको वनक्षयीकरण र ह्रास भएको चरणभूमीको पुनरुत्थान गर्न जिल्लाको बन्गाड कपिण्डे नगरपालिका वडा नम्बर १, ४, ५, ६ र ७ तथा कुमाख गाउँपालिकाको वडा नम्बर ४ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, विश्व वातावरण कोष तथा संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमको संयुक्त तत्वावधनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

वन र चरिचरणको सामाजिक आर्थिक तथा जैविक विविधताको क्षेत्रगत स्थितिको सूचना संकलन र पहिचान गरी समुदायको सहभागितामा खडेरी र भारी वर्षाको समयमा माटोको संरक्षण तथा पानीको उपलब्धता वढाउने र स्थानीय समुदायहरुसंगको सहकार्यमा आर्थिक लाभका लागि वन चरिचरण तथा कृषि प्रणालीमा आधारित समुदायको जीविकोपार्जन सुधारका योजनाहरु कार्यान्वयन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

सोही सन्दर्भमा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सम्बन्धि सञ्चार माध्यमको लागि तीन दिने तालिम सोमबारबाट जिल्लाको सदरमुकाम खलंगामा शुरु भएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले वन वातावरणको दिगो उपयोग गरी जिविकोपार्जनमा सुधार ल्याउन यसले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

जसका लागि जिल्लाका मिडियाहरुको भूमिका महत्वपुर्ण हुने उहाँको भनाई छ । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले जिल्लाको पारिस्थितिकीय प्रणालीका क्षेत्रमा पत्रकारहरुले कलम चलाउदैँ आएको र यसलाई कायम राख्न निरन्तर रुपमा लाग्ने बताउनुभयो । तालिममा जिल्लाभरका बिभिन्न मिडियामा आवद्ध २० जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण दिपेन्द्र जोसीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस