सल्यान १२, कार्तिक ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाले कम्युनिष्ट पक्षधरहरु एक हुनुपर्ने बताउनुभएको छ । उहाँले देशलाई बिकास र समृद्धिको बाटोमा अगाडी बढाउन र समाजवाद प्राप्त गर्नको लागि बिचार र सिद्धान्त मिल्ने कम्युनिष्टहरु बिचमा एकता हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको हो । यसको नेतृत्व एकीकृत समाजवादी पार्टीले गर्ने उहाँको भनाई छ ।
सोमवार सल्यानमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना पछि आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले यस्तो बताउनुभएको हो । ‘केपि ओली प्रबृद्धिका कारण एमाले पार्टी विभाजन भएको हो, ओली बोहक कम्युनिष्ट पार्टी विचको एकता अहिलेको आवश्यकता हो’ उहाँले भन्नुभयो ‘कम्युनिष्ट एकताको लागि हामीले वातावरण सिर्जना गर्दै छौँ ।’
पार्टीका कर्णाली प्रदेश इन्चार्ज समेत रहनुभएका ज्वालाले अहिलेको गठबन्धन आगामी चुनावसम्म नै मिलेर जाने दावी गर्नुभयो । ‘विचार मिल्न सक्ने शक्तिहरुसँग मिलेरै चुनावमा जाने छौं, त्यसमा वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुसँग चुनावमा तालमेल गरेर जाने छौं, त्यसबाट पार्टीलाई बलियो बनाउन मद्धत गर्ने छ’ उहाँले भन्नुभयो ।
उहाँले आगामी चुनावमा जनताको माझमा जानको लागि नेकपा एमाले सँग कुनै चुनावी एजेण्डा नभएको आरोप लगाउनुभयो । ‘अब केपी ओली के एजेण्डा लिएर जनता माझमा जान्छन् ? ७० करोड भ्रष्टाचार गरेकालाई संरक्षण गरेका छौँ भनेर ? एती काण्ड, ओम्नी काण्ड, कोरोनाका बेलामा भ्रष्टाचार गरेका हौँ भनेर ? वा अन्य कुनै ?’ उहाँले प्रश्न गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा जिल्ला इन्चार्ज उदय बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, केन्द्रिय सदस्य शारदा परियार, केन्द्रिय परिषद सदस्य हरी केसी, नेकपा माओवादी केन्द्रका शारदा नगर कमिटी इन्चार्ज प्रमोद श्रेष्ठ, उद्योग बाणिज्य संघ सल्यानका महासचिव मोहन सारु लगाएतकाले बोल्नुभएको थियो ।
पार्टीका जिल्ला उपाध्यक्ष राम खड्कीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव रमेश गौतमले गर्नुभएको थियो ।