राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न पत्रकारसँग अन्तरक्रिया

सल्यान १३, कार्तिक ।
राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय सल्यानको आयोजना तथा स्थानीय जनगणना कार्यालय बागचौरको समन्वय र बागचौर नगरपालिकाको व्यवस्थापनमा बागचौरमा शुक्रवार राष्ट्रिय जनगणना २०७८ प्रचारप्रसारका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको स्थलगत तथ्यांक संकलन कार्य सम्पन्न भएको छ । पहिलो चरणमा घर तथा घरपरिवार सूचिकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवार, पुरुष, महिला र अन्य लिङगी संख्या, परिवारको कृषि सम्बन्धी आदि विवरण संकलन गरिएको थियो ।

अब दोस्रो चरणमा यही कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत घर, परिवार र ब्यक्ति सम्बन्धी विस्तृत विवरण संकलन कार्य गर्ने स्थानीय जनगणना कार्यालय बागचौरले जनाएको छ । स्थानिय जनगणना अधिकारी टेक बहादुर डिसीले १२ औं राष्ट्रिय जनगणना देशको संघिय संरचनाको पहिलो जनगणना भएकाले पनि वडा, पालिका, प्रदेश र संघीय स्तरमा स्थलगत सूक्ष्म तथ्यांकहरु संकलन हुने हुदा आगामी दश बर्षको लागि देशको समग्र विकास योजना बनाउन महत्वपूर्ण आधार भएकोले यसको ठुलो महत्व रहेको बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन मिडिया, सरोकारवाला निकाय र आम जनसमुदाय सकारात्मक भएर लाग्नुपर्ने बताउनुभएको छ । ‘मैले अन्य पालिकाका जनप्रतिनिधिहरुसंग पनि सहकार्य गरिरहेको छु, अब चाडैं बागचौर नगरपालिकाका १२ वटै वडाका जनप्रतिनिधिहरुलाई कार्यपालिकाको बैठक राखेर यसलाई सफल बनाउन निर्देशन दिने छु’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नगरउपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर हमाल, लगाएत विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । बागचौर स्थानिय जनगणना कार्यालय अन्तर्गत रहेका दार्मा गाउँपालिकामा ५ जना सुपरिवेक्षक तथा २१ जना गणक, सिद्धकुमाख गाउँपालिका अन्तर्गत ४ जना सुपरिवेक्षक तथा १५ जना गणकहरु र बागचौर नगरपालिकामा ९ जना सुपरिवेक्षक र ३५ जना गणकहरु खटाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित