सल्यान २२, कार्तिक ।
नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्येको एक सल्यानको कुपिण्डे ताल आठ बर्ष पछि भरिएको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा रहेको कुपिण्डे ताल आठ बर्षपछि भरिएको हो । जसका कारण झण्डै ५२ फिट ताल बढेको अनुमान गरिएको छ । ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको ताल यस पटक भने आठ बर्ष पुरानो अवस्थामा फर्किएको छ । करिब २१ बर्ष पहिले यो ताल भरिएर ताल नजिकै रहेको कैलु बराहको मन्दिर सम्म पुगेको थियो ।
त्यसपछिका बर्षमा बर्षेनी ताल घट्दै गएको थियो । जसका कारण ताल वरपरको करिब २०० मिटरभन्दा बढी भाग पुरिएको थियो । तर यस पटक परेको बेमौषमी बर्षा, तालको संरक्षणमा सक्रिय भएर लाग्नु जस्ता कारणले आठ बर्षपछि ताल भरिएर मन्दिरको छेउ सम्म आइ पुगेको छ । बर्षमा ३ पटक रंग फेर्न कुपिण्डे ताल २३ दशमलव ५३ हेक्टर क्षेत्रमा फैलिएको छ । तालको लम्बाइ ८ सय ३४ मिटर, चौडाइ २ सय ५० मिटर र गहिराइ ३४ मिटर रहेको छ । समुद्री सतह देखि १,१२० मिटर उचाइको तालमा पानीको भाग ५४ लाख ८२ हजार रहेको अनुमान छ ।
स्थानिय तिलक गोसाईले करिब ८ बर्षपछि तालको पानी भरिएर मन्दिर सम्म आइपुगेको बताउनुभयो । ‘बर्षायामहरुमा पनि पानी यसरी बढेको थिएन, केही दिन अघिको बेमौसमी बर्षा, तालको संरक्षणमा सबै निकाय लाग्नु, दक्षिण भागको दुईवटा ठाडो खोलामा गल्छी निर्माण गरिनु लगाएतका कारण ताल भरिएको अनुमान गर्न सकिन्छ’ उहाँले भन्नुभयो ‘अहिले जसरी नै तालमा सधैँ पानी भरिभराउ हुन्छ कि हुदैँन भन्ने चासोको बिषय हो ।’
तालमा पानीको मात्रा बढेसँगै डुंगा चढेर ताल सम्म जानुपर्ने अवस्था आएको उहाँको भनाई छ । ‘तालमा पानी भरिएपछि प्रतिक्षालय डुबेको छ, केही डुंगा ताल मुनी नै रहेका छन्, पहिले मन्दिरको छेउ सम्म नै सवारीसाधन जान्थे, ताल भरिए पछि सडक बन्द भएको छ, यहीबाट भएर आगरनेटा, खारा, थापचौर, पुछाला लगाएतका बस्तीमा जान सडक अबरुद्ध भएको छ’ उहाँले भन्नुभयो ।
मन्दिरका पुजारी मान बहादुर गोसाईले तालमा पानी भरिएपछि आकृषक भएको र घुम्न आउनेकोहरु संख्या पनि बढ्न थालेको बताउनुभएको छ । उहाँले तिहार पछि ताल घुम्न आउने आन्तरिक तथा बाह्यपर्यटकहरुको संख्या उल्लेख्य मात्रामा बढ्ने अनुमान गरिएको बताउनुभयो । ‘तालमा पानी बढ्नुको खास कारण थाहा छैन्, यही बेमौषमी बर्षातले नै तालमा पानी भरिएको हो भने पनि तालको पानी घटेर पुरानै अवस्थामा फर्किन करिब तीन महिना लाग्छ’ उहाँले भन्नुभयो ।
ताल संरक्षण समितीका सचिव चेत बहादुर कवरले तालको संरक्षणको लागि पहल र प्रयास गर्दै आएको बताउनुभएको छ । ‘बर्षेनी तालको संरक्षण गर्नको लागि ताल वरपरका खोलामा तटबन्ध निर्माण, बृक्षारोपण, स्थानिय नागरिकहरुलाई सचेतीकरण गर्ने काम भैरहेको छ’ उहाँले भन्नुभयो ‘तालको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्नु अहिलेको हाम्रो दायित्व हो ।’ खलंगा–कुपिण्डे ताल–बालुवासंग्रही सडकको स्तरोन्नती सँगै पर्यटकहरुको संख्या पनि बढ्न थालेको छ ।
ताल घुम्नको लागि झण्डै दुई दर्जन डुंगा सञ्चालनमा रहेका छन् । कुपिण्डे तालमा आन्तरिक र बाह्य गरि वार्षिक लगभग २५ हजार पर्यटक पुग्ने गरेका छन् । ताल घुम्नको लागि सुर्खेत, जाजारकोट, दैलेख, बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा, रुकुम लगाएत देशका बिभिन्न जिल्लाबाट आउने गर्दछन् ।