सल्यानमा राष्ट्रिय जनगणना २०७८ को तयारी पुरा

जिल्लाभर २९१ गणक खटाइने

सल्यान २४, कार्तिक ।
सल्यानमा राष्ट्रिय जनगणनाका लागि २ सय ९१ गणक परिचालन गरिने भएको छ । जिल्ला जनगणना कार्यालय सल्यानले मूल गणनाका लागि २ सय ९१ गणक खटाउने भएको हो । जसमा शारदा नगरपालिकामा ५० जना, बन्गाड कुपिण्डे नगरपालिकामा ३८ जना र बागचौर नगरपालिकामा ३५ जना खटाइने भएको छ ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा २८ जना, दार्मा गाउँपालिकामा २१ जना, कालिमाटी गाउँपालिकामा २७ जना, कपुरकोट गाउँपालिकामा २४ जना, कुमाख गाउँपालिकामा ३१ जना, सिद्ध कुमाख गाउँपालिकामा १५ जना र त्रिबेणी गाउँपालिकामा २२ जना गणक खटाइने छ । यही कात्तिक २५ देखि मंसिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाका लागि आवश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको कार्यालयले जनाएको छ ।

यसका लागि कार्यालयले गणकका लागि चार दिने तालिम दिएको छ । जिल्लाका दशवटै पालिकामा खटिने गणकका लागि स्थानिय जनगणना कार्यालय मार्फत तालिम प्रदान गरिएको जिल्ला जनगणना अधिकारी केशर बहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा घरपरिवारमा पुगेर जनगणना गर्दा अपनाउनुपर्ने तरिका, प्रक्रिया र मुख्य प्रश्नावली भर्ने तरिकाका बारेमा सिकाइएको छ ।

जिल्लाभर ७३ जना सुपरिबेक्षक खटाइने छ । सुपरीवेक्षकले गत भदौ ३० देखि असोज १८ गतेसम्म घरपरिवार सूचीकरण गरिसकेका छन् । सोहीका आधारमा अब गणकले यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मूल गणना गर्नेछन् । गणक मार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ । जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व छ ।

‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु हुने जनगणनामा समाजका सबै तहतप्काको सहभागिता गराउने गरि तयारी सकिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका झण्डै ५४ हजार ७ सय घरपरिवार सूचीकृत गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस