सल्यान २५, कार्तिक ।
सल्यानका पाइने परम्परागत घरेलु यन्त्र/उपकरण लोप हुन थालेका छन् । सुविधाभोगी मानव स्वभाव र आधुनिकताको प्रभावस्वरुप जिल्लाका ग्रामीण भेगबाट ढिकी, जाँतो, हाते मुसल, कोल, लोरा सिलौटा लगायतका रैथाने यन्त्र/उपकरण लोप हुन थालेका हुन् । ग्रामीण क्षेत्रमा भित्रिएका मिल, मिक्चर र बिजुली घट्ट निर्माण भएपछि कुटानी पिसानी गर्ने यस्ता यन्त्र विस्थापित हुँदै गएका हुन् । मानिसले यस्ता परम्परागत यन्त्र प्रयोग गर्न छाडेसँगै गाउँघरको रहन–सहनमा समेत परिवर्तन हुँदै आएको छ ।
पहिला दसैँ–तिहार जस्ता चाडपर्वका लागि ढिकी, जाँतोमा कुटानी पिसानी गरेको अन्नबाट बनाइएको खानपिनलाई विशेष महत्वका साथ लिइन्थ्यो । तर, अहिले त्यो परम्परा लोप हुँदै गइसकेको छ । गाउँघरमा आफैले उत्पादन गरेको तोरी पेल्न कोल बनाइएको हुन्थ्यो । तर, अहिले बजारमा पाइने विभिन्न ब्रान्डका तेल किनेर प्रयोग गर्ने प्रचलन बढ्दै गएको छ भने कोलमा तोरी पेल्ने प्रचलन हराउँदै गएको छ । यस्तै बिजुलीबाट चल्ने मिक्चर आएसँगै अचार तथा मरमसाला मिस्ने लोरा सिलौटा पनि हराउदैँ गएका छन् ।
झण्डै दुई दशक अगाडिसम्म चलनचल्तीमा आएका यी घरेलु यन्त्र अहिले बिरलै देख्न सकिन्छ । स्थानीय महिला भने अहिले आधुनिक यन्त्रको विकाससँगै सुविधा बढेको बताउँछन् । ‘पहिला ढिकी जाँतो, हाते मुसलले गर्दा हामी महिलालाई दुःख हुन्थ्यो’ छत्रेश्वरी गाउँपालिकाकी शारदा पुन भन्नुहुन्छ ‘आधुनिक घट्ट, मिल आएपछि सहज भएको छ ।’ कुटानी पिसानी गर्दा लाग्ने समय बचत भएसँगै बालबच्चाको सरसफाई सँगै घरायसी अन्य काममा समय खर्चिने गरेको उहाँको भनाई छ ।
आधुनिक घट्ट र मिलले गर्दा गाउँमा पाइने अर्गानिक अन्नको स्वाद हराएको स्थानीय बुढापाका बताउँछन् । ‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगा¥यो,’ बन्गाड कुपिण्डे नगरपालिकाकी गोपि सुनार भन्नुहुन्छ ‘ढिकी र जाँतोमा कुटानी पिसानी गरिएका अन्नमा जुन स्वाद पाइन्छ, त्यो स्वाद अहिले पाइँदैन ।’ गाउँघरमा आधुनिकताले एकातिर मान्छेहरूलाई अल्छी बनाएको छ भने उत्पादनमा कमी भई परनिर्भर बनाउँदै लगेको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ लेखपोखरामा रहेको कालिका प्राथामिक बिद्यालयले परम्परागत यन्त्र, रैथाने वाली लगाएतहरुको संरक्षण सँगै बिद्यालयमा संग्राहलय निर्माण गरेको छ । तर त्यस बाहेक जिल्लाका अरु निकायले भने यस्ता रैथाने यन्त्रहरुको संरक्षणमा कुनै चासो दिएका छैनन् ।
शारदा नगरपालिकाका उपप्रमुख सावित्रा बस्नेतले हाम्रो संस्कार, रितिरिवाज र परम्परासँग जोडिएका रैथाने यन्त्रको संरक्षण गर्नुपर्ने बताउनुभयो । ‘महिलालाई आधुनिक यन्त्रले केही सुविधा भएको छ, तर यस्ता कार्यमा महिलापुरुष दुवैको सहभागिता हुनु आवश्यक छ’ उहाँले भन्नुभयो ‘सुखको लागि मिल, आधुनिक घट्ट र मिक्चर तथा स्वादिलो खानाको लागि ढिकी जाँतो लोप हुन दिनुहुँदैन ।’
कुनै बेला चुलोचौकोमा सीमित रहने महिलाहरु अहिले गाउँघरमा हुने सेमिनार, गोष्ठी लगाएतका कार्यक्रमहरुमा सहभागिता जनाउने गरेका छन् ।