लोकमार्ग कि मृत्युमार्ग ?

साउनयता लोकमार्गमा ३३ सवारी दुर्घटना : १५ जनाको मृत्यु

सल्यान २८, कार्तिक ।
२०७८ कार्तिक ७ गते सल्यानको बागचौरबाट दाङको तुलसीपुर जादैँ गरेको भे १ च १८९० नम्बरको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउपालिकाको मूलपानी बनस्पति उद्याननजिकै दुर्घटना भयो । दुर्घटनामा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशीष बस्नेतको ज्यान गयो भने थप सातजना घाइते भए ।

त्यसको ठीक दुई हप्ता पुगेकै दिन कार्तिक २१ गते सल्यानको दुलधाराबाट दाङको तुलसीपुरतर्फ जादैँ गरेको रा १ ख २५५२ नम्बरको बस राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउपालिकाको खारखोलामा दुर्घटना भयो । भाइटीका लगाएर घर फर्कदै गरेका १२ जनाले अकालमा ज्यान गुमाए अरु २८ जना घाइते भए ।

राप्ती लोकमार्गअन्तर्गत सल्यान क्षेत्रमा यस्ता दुर्घटना सामान्य जस्तै बन्न थालेका छन् । कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने राप्ती लोकमार्गको वर्षौंसम्म स्तरोन्नति र विस्तार नहुँदा ‘मृत्युमार्ग’को रुपमा परिणत हुन थालेको छ । २०६३ सालमा राप्ती लोकमार्गकै भाण्टाखोलामा गाडी दुर्घटना हुदा ४० भन्दा बढीको मृत्यु भयो । २०७५ सालमा राप्ती लोकमार्गकै राम्रीमा स्कुल बस दुर्घटना हुदा २२ जनाको मृत्यु भएको थियो ।

यस्ता ठूला दुर्घटना भइरहदा पनि राप्ती लोकमार्गमा हुने दुर्घटनाका विषयमा सरकार र सरोकारवाला सबै बेखबर जस्तै छन् । दुर्घटना भएर आफन्त गुमाउदा दुःख व्यक्त गर्नुबाहेक दुर्घटना न्यूनीकरणमा कसैको ध्यान नगएको स्थानीय बताउँछन् । दाङ, सल्यान र रुकुमलाई जोड्ने राप्ती लोकमार्गअन्तर्गत अमेलियादेखि रुकुमको सल्लेसम्म एक सय ६८ दशमलव ५४ किमी सडक पर्दछ । त्यसमध्येको तुलसीपुरदेखि श्रीनगरसम्मको सडक झन बिग्रिएको छ ।

राप्ती लोकमार्गको राम्री, चोरखोला, अरिंगाले, मूलपानी, खारखोला, भान्टाखोला दुर्घटना हुने अतिजोखिम क्षेत्र हुन् । यी क्षेत्रमा सडक खाल्टा खुल्टी, पहिरोले साघुरो भएर जोखिम बढेको हो । सडक क्षतविक्षत हुदा पनि मर्मत नहुदा दुर्घटनाको जोखिम झन पछि झन बढ्दै गएको स्थानीय बताउछन् । उनीहरुले पटक–पटक यस क्षेत्रमा दुर्घटना हुनुमा सडक मर्मत नहुनु, खाल्टाखुल्टी हुनु, घुम्तीहरु साँघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनुले सधै जोखिम व्यहोर्नु परेको बताए ।

सडकको मर्मत नहुदा अवस्था झन जीर्ण हुदै जान्छ । त्यसमाथि गुडाउने सवारीका साधनको गति र लोड भने उस्तै छ । सडक कमजोर छ भन्ने कुरा बिर्सिएर ओभरलोड राख्ने र तीब्र गतिमा चलाउने काम रोकिन सकेको छैन । श्रीनगर, लुहाम, कपुरकोटमा प्रहरीले जाँच पनि गरिरहेको छ । ट्राफिक प्रहरीले छड्के जाँच पनि गर्दै आएको छ । तर प्रहरीको जाँचले दुर्घटना रोकिएकै छैन । किनभने गलत गर्नेलाई चिट काटेर छोड्ने नियमले दुर्घटनामा कमी नआएको स्थानीयको गुनासो छ ।

दुर्घटनाको छानबिन नै हुदैन्
दुर्घटना हुनुमा विभिन्न कारण छन् । ओभरलोड, पुराना गाडी, ट्राफिक र चालकको लापरवाही त छदैँछ गाडी गुड्ने बाटो नै राम्रो भएन भने दुर्घटना त्यहींबाट सिर्जना हुन्छ । दुर्घटना भइहाले चालकले सडक वा पैदलयात्रुका कारण दुर्घटना भयो भन्ने अनि प्रहरीले चालक वा तीब्र गतिका कारणले दुर्घटना भयो भन्दै आरोप प्रत्यारोप गर्ने प्रवृत्ति छ ।

तर खासमा दुर्घटना के कारणले बढिरहेको छ भन्ने कुरा दर्जनौं नागरिकले ज्यान गुमाउदा पनि त्यसको छानबिन तथा अध्ययन हुन सकेको छैन । न कसैले अध्ययन गर्छ न त सरोकारवालाहरुले समिति नै बनाउछन् । त्यसैले पनि दुर्घटना न्यूनीकरण हुनुको साटो बढिरहेका छन् ।

हवाई सेवामा सानो कमजोरी हुदा छानबिन समिति बन्छ, कमजोरी खोजिन्छ र सुधार पनि गरिन्छ’ छत्रेश्वरीका भीषण डाँगीले भन्नुभयो– ‘सल्यानमा एक हप्ताअघि गाडी पल्टेर १२ सर्वसाधारणको ज्यान गयो तर कतै छानबिन हुदैन, अनि कसरी कमजोरी थाहा हुन्छ ?’

उहाँले अधिकांश दुर्घटना गाडी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुहुन्छ । तीब्र गति, गाडी व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा, क्षमता भन्दा बढी यात्रु राख्ने, पुराना सवारीसाधनको प्रयोग तथा जीर्ण सडकका कारण दुर्घटना हुने गरेको उहाँको भनाइ छ । उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि गाडी चालकलाई तालिम तथा प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।

राप्ती लोकमार्ग मर्मत नहुदा, सडकमा खाल्टाखुल्टी हुनु, घुम्तीहरु साघुरो हुनु, सडक माथिबाट झरेका पहिरो नहटाइनु जस्ता कारण सवारी दुर्घटना हुने गरेको गाडी चालक पारश शर्मा बताउनुहुन्छ । ‘केही हदसम्म चालकको लापरवाहीले पनि दुर्घटना भएको हुनसक्छ तर यसको मुख्य कारण भनेको सडकको सुधार हुन आवश्यक छ’– उहाँले भन्नुभयो– ‘छिटो गन्तव्यमा पुग्न सबैलाई हतार हुन्छ, जसले गर्दा दुर्घटनाको जोखिम निम्तिने गर्दछ ।’

चार महिनामा १५ जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गको सल्यान खण्डमा मात्रै चालु आर्थिक वर्षको साउन देखियता ३३ वटा सवारी दुर्घटना भएका छन् । सल्यान–दाङको सिमाना देखि सल्यान–रुकुमको सिमानासम्म भएका सवारी दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर अरु ६६ जना घाइते भएका छन् । थापाले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानको सिमानादेखि सल्यानतर्फको भागको सडक स्तरोन्नतिको काम तत्काल शुरु गर्न सडक डिभिजन कार्यालय दाङसँग समन्वय भएरहेको जानकारी दिनुभयो । वर्षातका कारण रोकिएको सडक स्तरोन्नतिको काम चाडपर्वले गर्दा केही ढिला भएको र यसै सातादेखि काम शुरु गर्ने गरी निर्माण कम्पनीले तयारी गरेको उहाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस