सल्यान ८, मंसिर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सम्पर्क कार्यालय सल्यानको खलंगामा स्थापना गरिएको छ । बिहिवार सदरमुकाम खलंगाको डाँडागाउँमा पार्टीले कार्यालय स्थापना गरेको हो । पार्टीका केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले पार्टीको झण्डा फहराएर कार्यालय उद्घाटन गर्नुभएको हो । पार्टी पुनर्गठन दिवसको अवसर पारेर सल्यानमा सम्पर्क कार्यालय स्थापना गरिएको जिल्ला सेक्रेटरी नारायण चन्दले बताउनुभयो ।
पार्टी कार्यालय स्थापना पश्चात् चियापान कार्यक्रम गरिएको थियो । सो अवशरमा बोल्दै केन्द्रिय सदस्य तथा सल्यान इन्चार्ज पोख्रेलले अहिलेको संसदीय व्यवस्थाले जनताको जिवनस्तरमा उठाउन नसक्ने भएकाले वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने र शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न जनमत संग्रह गर्नुपर्ने बताउनुभयो । जनमतसंग्रह नै नेपालको अहिलेको सबैभन्दा अग्रगामी एजेन्डा भएको उहाँको भनाइ छ ।
पार्टीका जिल्ला सेक्रेटरी नारायण चन्दको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता थलराज भण्डारी, नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउने, रेडियो तहल्काका स्टेशन मेनेजर डिल्ली राज रावत, इन्सेक प्रतिनिधि मिना बुढाथोकी लगाएतले बोल्नुभएको थियो । कार्यालय सदस्य मदन चन्दको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य टंक प्रकाश केसीले गर्नुभएको थियो ।