सल्यानमा कोरोना जोखिम कायमै : भीड बढ्दै

जिल्लाभर कोरोनाका १० जना संक्रिय संक्रमित छन्

सल्यान ९, मंसिर ।
०७८ कार्तिक २३ गते कपुरकोट गाउपालिकाको वडा नं. १, २ र ५ को सिमानामा रहेको रुम्टिलेकमा मेला लाग्यो । दाङ, रोल्पा लगायतका छिमेकी जिल्लाहरुबाट पनि मेला हेर्न मान्छे आए । खुला भलिबल प्रतियोगिता पनि आयोजना गरिएकाले मेलामा हजारौंको संख्यामा सहभागिता थियो ।

त्यसपछि कार्तिक २५ गते दार्मा गाउपालिकाको फारुलाचौरस्थित हिलेइखालीमा मेला लाग्यो । विभिन्न खेलकूद प्रतियोगितासहित आयोजना गरिएको मेलामा दार्मासँगै कुमाख र बागचौरबाट समेत स्थानीयको भीड लाग्यो ।

त्यसको एक सातापछि मंसिर ३ गते बागचौर नगरपालिकाको मोखला र बनगाड कुपिण्डे नगरपालिकाको कुपिण्डे तालमा मेला लाग्यो । ती सबै मेलामा पनि उस्तै भीड जम्मा भएको देखिन्थ्यो । अझ उदेक लाग्दो कुरा त के छ भने सधै कोरोना जोखिमका कारण भीड नगर्ने भन्दै विज्ञप्ति निकाल्ने सल्यान जिल्ला प्रशासनले मोखलाको मेला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय सल्यान आफैले लिखित सहमति दियो र मेलामा हजारौंको सहभागिता भयो ।

जिल्लामा यस्ता थुप्रै मेला यसपालि भइरहेका छन् । कोरोना महामारीका कारण झण्डै दुई वर्षदेखि रोकिएका जिल्लाका सामूहिक गतिविधि कोरोना जोखिमकै बीचमा केही महिनायता बढिरहेका छन् । जसले कोरोना संक्रमणको जोखिम अझै बढाएको छ । राजनीतिक दलका अधिवेशन, सम्मेलन तथा भेलाहरु पनि चलिरहेका छन् ।

कोरोनाका कारण सल्यानमा अहिलेसम्म तीन हजार एक सय छ जना संक्रमित भए । संक्रमणका कारण ५४ जनाले त ज्यानै गुमाइसकेका छन् । अझै पनि जिल्लामा १० जना कोरोनाका सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । ती मध्ये एकजना संस्थागत आइसोलेशनमा र नौजना होम आइसोलेसनमा रहेका छन् ।

‘संक्रमणका कारण ५४ जनाले त ज्यानै गुमाइसकेका छन्’

जिल्लामा कोरोनाको जोखिम कायमै रहे पनि पछिल्लो समय लापरवाही बढ्दै गएको छ । जिल्लामा भएका मेला, कार्यक्रम, भेला र सम्मेलनमा भौतिक दूरी पनि कायम गरिएको छैन । जसका कारण फेरि कोरोनाको जोखिम बढेको शारदा नगरपालिकाका कमल रोकाले बताउनुभयो । ‘मास्कबिनै जथाभावी हिडडृुल गर्ने क्रम बढिरहेको छ, हातधुने र सेनिटाइजरको प्रयोग पनि शून्यप्राय : छन्’ उहाँले भन्नुभयो ‘सजिलो समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा त्यसको असर महामारीकारुपमा देखिन सक्छ । त्यसैले सबै सजग हुन जरुरी छ ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जिल्लामा कोरोनाको जोखिम कायमै रहेको बताउनुभयो । ‘अहिले पनि कोरोनाको जोखिम कायमै छ, कोरोनाको तेस्रो लहरको जोखिम छदैँछ’ श्रेष्ठले भन्नुभयो ‘हिजोको जस्तो अवस्था नआओस् भनेर सबै सर्तक रहनुपर्छ । जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नु आवश्यक छ ।’ उहाँका अनुसार जिल्लामा अहिलेसम्म ४२ हजार नागरिकले कोरोनाको पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने शर्तमा विभिन्न गतिविधि सञ्चालन गर्न अनुमति दिदै आएको बताउनुभयो । तर मेला महोत्सवमा मापदण्डको पालना कसरी सम्भव हुन्छ भन्नेबारे प्रशासनले केही बोलेको छैन ।

 

प्रतिक्रिया दिनुहोस