सल्यान १०, मंसिर ।
सल्यान आलु उत्पादनका हिसावले प्रख्यात जिल्ला हो । जिल्लाको बागचौैर नगरपालिकाको बाफुखोला, शिवरथ, दार्मा गाउँपालिकाको ढाँकाडाम लगाएत सबै स्थानिय तहमा आलु उत्पादन हुन्छ । कृषकहरुले हिउदेँ सिजनमा आलुको कम खेती गरेपनि बर्खे सिजनमा धेरै नै खेती गर्दै आएका छन् । पछिल्लो समय हिउँदको समयमा बर्षात कम हुने र जिल्लामा गहुँ, जौँ उत्पादन नहुने भएकाले पाखो बारीहरुमा उत्पादन बृद्धि गर्न आलु आलु खेती गर्नेको संख्या पनि बढ्दै गएको छ ।
कृषि बिकास कार्यालय सल्यानका अनुसार जिल्लाभर २ हजार ३ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे र हिउँदे आलु खेती गरिदैँ आएको छ । जसमा किसानहरुले वर्षे आलु ५ सय ५० हेक्टर क्षेत्रफलमा खेती गर्दै आएका छन् भने हिउँदे आलु १ हजार ८ सय २० हेक्टरमा खेती गर्दै आएका छन् । गत आर्थिक बर्ष २०७७।०७८ मा जिल्लाभर वर्षे र हिउँदे गरी कुल २४ हजार १ सय १० मेट्रिक टन आलु उत्पादन भयो ।
उत्पादन भएको आलु मध्ये १६ हजार ७ सय ९५ मेट्रिक टन आलु आन्तरिक रुपमा नै खपत भयो । उत्पादित ७ हजार ३ सय १५ मेट्रिक टन आलु बजारमा पुग्यो । जसमा २ हजार ३ सय २० मेट्रिक टन आलु दाङ, बुटवल, नेपालगन्ज, पोखरा लगाएतका शहरमा निर्यात भएको तथ्यांक छ । बर्षेनी २४ हजार मेट्रिक टन बढी आलु उत्पादन हुने जिल्लामा भने बाहिरबाट आलुको बीउ आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
कृषि बिकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले जिल्लामा बर्खे आलुको बीउ पर्याप्त हुने भएपनि हिउदेँ आलुको लागि भने बाहिर जिल्लाबाट नै आयात गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा भण्डारण गर्ने ठाँउ नहुदाँ आलु खेती गर्नको लागि बाहिरी जिल्लाबाट बिउ आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।
चालु आर्थिक बर्षमा मात्रै जिल्लाका तीन स्थानिय तहमा शरदकालिन आलु खेती पकेट बिकास कार्यक्रमको लागि झण्डै ३७ मेट्रिकटन बीउ काठमाण्डौँ, डडेलधुरा र कोहलपुरबाट आयात गरिएको छ । जिल्लामा उत्पादन भएको आलु सस्तो मुल्यमा बिक्री गरेर महंगो मुल्यमा बिउ आयात गर्नुपर्ने बाध्यता छ ।
बिउ भण्डारण गर्न समस्या
बर्षेनी करोडौँको आलु, सुन्तला, अदुवा, ताजा तरकारी लगाएतको कृषिजन्य उपज निर्यात हुदैँ आएको सल्यानमा चिस्यान केन्द्र छैन् । चिस्यान केन्द्र नहुदाँ जिल्लामा उत्पादन भएको बस्तु तत्काल निर्यात गर्नुपर्ने बाध्यता छ । कृषिजन्य बस्तु लामो समय सम्म राख्दा कुहिएर, सडेगलेर जाने र ठुलो मात्रामा क्षती बेहोर्नुपर्ने भएकाले किसान उत्पादन गरेको बस्तु कम मुल्यमा पनि बिक्री गर्न बाध्य छन् ।
जिल्लाका आधा दर्जन किसानहरुले आलुको बीउ उत्पादन गर्छन् । तर चिस्यान केन्द्र नहुदाँ सिमित मात्रामा मात्रै बिउ उत्पादन हुन्छ । जसका कारण हिउदेँ सिजनमा आधा भन्दा बढी आलुको बिउ बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ । बाफुखोलाका किसान बिर बहादुर वली बर्खे आलुको बिउ प्रशस्त मात्रामा पाइने भएपनि हिउदेँ आलुको बिउ पाउन भने मुस्किल पर्ने गरेको बताउनुहुन्छ ।
हिउदेँ आलुको बिउको माग धेरै आएपनि उत्पादन थोरै हुने गरेको किसानको भनाइ छ । सिमित स्रोत र साधन भएकाले धेरै उत्पादन गर्न नसकिएको किसान बताउँछन् । जिल्लामा आलु उत्पादन बढाउनको लागि उन्नत जातको आलुको विउ वितरण, आलु ब्लक कार्यक्रम, सिँचाई सुविधाको विस्तार गरिएको छ तर बिउ उत्पादन बढाउनको लागि भने खासै प्रयास गरिएको छैन् ।
चिस्यान केन्द्र निर्माणको लागि ३० लाख
जिल्लामा चिस्यान केन्द्र नहुदाँ किसानहरुले ठुलो क्षती बेहोर्नु परेको छ । जिल्लामा चिस्यान केन्द्र निर्माणका लागि बेला बेलामा आवाज उठ्ने गरेको छ । गत बर्ष कपुरकोटमा चिस्यान केन्द्र बनाउनको लागि प्रदेश सरकारले केही वजेट पठाएको थियो । तर कोरोना जोखिमका कारण जारी निषेधाज्ञा लगाएतका कारण कार्यान्वयन हुन सकेन् ।
यस बर्षपनि चिस्यान केन्द्र निर्माणको लागि ३० लाख रुपैँया प्राप्त भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कपुरकोट कृषि उपज संकलन केन्द्रका सचिव तिलक शर्माले प्रदेश सरकारले चिस्यान केन्द्र निर्माणका लागि पठाएको वजेट अपर्याप्त भएको बताउनुभयो । चिस्यान केन्द्र निर्माणका लागि कम्तिमा १ करोड लगानी गरिनुपर्ने उहाँको भनाई छ ।
अहिले प्राप्त बजेटले चिस्यान केन्द्रको बाहिरी संरचना तयार पारिने र वजेट थप भएमा आवश्यक संरचना सहित औजारउपकरण खरिद गर्न सकिने कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।