सल्यान १२, मंसिर ।
शुक्रवार जवरजस्तीकरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानमा एउटा मुद्धा दर्ता भयो । बिवाह गर्ने भनेर ललाइफकाइ गरेर जिल्लाको श्रीनगर स्थित एक होटलमा लिएर राखेको र केटीको उमेर १८ बर्षमुनिको भएपछि प्रहरी कहाँ जवरजस्ती करणीको मुद्धा दर्ता भयो । दार्मा गाउँपालिका ५ घर भएका २२ बर्षिय युवकले शारदा नगरपालिका निवासी ती बालिकालाई ललाईफकाई गरेर जवरजस्तीकरणी गरेको भन्दै मुद्धा दर्ता भएपनि युवक फरार रहेका छन् भने अनुसन्धान प्रक्रिया अगाडी बढेको प्रहरीले जनाएको छ ।
शुक्रवारकै दिन शारदा नगरपालिका वडा नम्बर ५ रानीकोट गैरागाउँ निवासी अन्दाजी ३३ वर्षीय शेरबहादुर चन्दको शव फेला प¥यो । शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा देवरको हत्या गरेको आरोपमा प्रहरीले दुई भाउजूलाई पक्राउ गरेको छ । टाउकोमा धारिलो हतियार प्रयोग भएको र आधा शरीर जलेको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा प्रहरीले शारदा नगरपालिका–५ निवासी मृतकका भाउजू २६ वर्षीया लक्ष्मी चन्द र अर्की भाउजू नाता पर्ने राधा पौडेल चन्दलाई पक्राउ गरेको हो ।
आरोपितले प्रहरीलाई बताए अनुसार मृतकले भाउजुमाथि बलात्कारको प्रयास गरेपछि प्रतिकार स्वरुप उनको हत्या गरेको बुझिएको छ । तर यस बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखिएको छ भने अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।
‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ बिहीवार देखी लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेको अवस्थामा जिल्लामा घटेका यी दुइ घटनाले लैङ्गिक हिंसा न्युकिरण अभियान माथि नै प्रश्न चिन्ह खडा गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक सुमित खड्काले स्थानिय स्तरमा जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
विगतमा पनि प्रहरी, स्थानिय तह, नागरिक समाज सबै क्षेत्रबाट हिंसा न्युनिकरणका लागि पहल भैरहेको भएपनि थप सक्रियताका साथ लाग्नुपर्ने उहाँको भनाई छ । उहाँले हिंसा भएको पाइएमा प्रहरी, स्थानिय तह आदीमा खवर गर्नुपर्ने भएपनि कानुन नै हातमा लिने अधिकार कसैलाई नभएको उहाँले बताउनुभयो ।
मानवअधिकारकर्मी मिना बुढाथोकीले कानुन नै हातमा लिएर अगाडी बढ्दा क्षम्य नहुने बताउनुभयो । म हिंसा गर्दिन र अरुलाई पनि हिंसा गर्न दिन्न भनेर अगाडी बढ्नुपर्छ, हिंसा सहेर बस्नु हुदैँन्, देशमा संविधान छ, कानुन छ, निती नियम छ, तर कानुन भन्दा माथि कोही हुन सक्दैन्, उहाँले भन्नुभयो पिडितले न्याय पाउनुपर्छ, पिडकले सजाय पाउनुपर्छ ।
उहाँले हिंसा न्युनिकरण लागि सचेतनामुलक अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो । यसका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय तहको अहम् भूमिका रहने उहाँको भनाई छ । देशभर लैङ्गिक हिंसा बिरुद्धको अभियान सञ्चालन भैरहेको अवस्थमामा जिल्लामा भएका यस्ता घटनाले हिंसा न्युनिकरणमा सक्रियताका साथ लाग्न सरोकारवालाहरुलाई थप दवाव सिर्जना गरेको छ ।