तोकिएको तलव पाउनुपर्ने माग गर्दै शारदा नगरपालिकामा धर्ना

‘यो हाम्रो रहर होइन, बाध्यता हो'

सल्यान १३, मंसिर ।
सरकारले तोकेको तलव पाउनुपर्ने माग गर्दै बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुले सल्यानको शारदा नगरपालिकामा धर्ना दिएका छन् । नगरभित्रका सबै बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुले सरकारले तोके बमोजिमको तलव सुविधा पाउनुपर्ने माग गर्दै आइतवार नगरपालिकामा धर्ना दिएका हुन् । केन्द्रिय सरकारले वजेट वक्तव्यमा बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुले पाउदैँ आएको मासिक ६ हजार तलवमा २ हजार केन्द्र सरकारले र बाँकी ७ हजार सम्वन्धित स्थानिय तहले थप गरेर १५ हजार दिनुपर्ने उल्लेख गरेको छ ।

सोही अनुसार जिल्लाका अरु स्थानिय तहहरुले तलवको व्यवस्था गरेपनि शारदा नगरपालिकाले वजेट वक्तव्य र केन्द्रिय सरकारले पठाएको परिपत्रको पालना नगर्दा आफुहरु आन्दोलित हुनुपरेको बाल बिकास शिक्षक समितीका अध्यक्ष शान्तिप्रभा पुरीले बताउनुभयो । ‘यो हाम्रो रहर होइन, बाध्यता हो, हामीले पटक पटक ध्यानाकर्षण गराउदाँ पनि माग सम्बोदन भएन्, बाध्य भएर धर्ना दिनुपरेको छ’ उहाँले भन्नुभयो ‘यदी हाम्रो आवश्यता छैन् भने बाल विकासबाट बिदाइ दिएहुन्छ ।’

हरेक क्षेत्रमा महंगी बढ्दै गएको अवस्थामा न्युन तलवले गर्दा दैनिकी चलाउन समेत समस्या भएको उहाँको भनाई छ । ‘साना साना बालबालिकाको भविष्य निर्माण गर्ने मुख्य कुरा हो, तर न्युन तलवले हामी काम गर्न सक्दैनौँ, वजेट वक्तव्यमा उल्लेख भएको कुरा नगरपालिकाले लागु गरेपुग्छ, हाम्रो अरु कुनै माग छैन्’ उहाँले भन्नुभयो । नगरपालिकामा बाल विकास शिक्षक, बिद्यालय कर्मचारी, कार्यालय सहयोगी गरेर १ सय ३२ जना रहेको नगरपालिकाले जनाएको छ ।

बिद्यालय कर्मचारी बिरबहादुर भण्डारीले स्थानिय तहको लापरवाहीका कारण आफुले अहिलेसम्म वजेट वक्तव्य अनुसार तलव नपाएको बताउनुभयो । नगरपालिकाले आफुहरुको माग सम्बोदन नगर्दा सम्म पठनपाठन कार्यमा नफर्किने उहाँले बताउनुभयो । ‘हामीले बालबालिकाको भबिष्यका लागि अहिलेसम्म पर्खिएर बसेका थियौँ तर धैर्यताको बाँध फुट्यो’ उहाँले भन्नुभयो ‘माग पुरा नहुदाँ सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

यता शारदा नगरपालिकाले बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोदन गर्न नसकिने जनाएको छ । नगरको आर्थिक स्रोत कम भएकोले ती शिक्षक तथा कर्मचारीको माग सम्बोदन गर्न समस्या भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले बताउनुभयो । यसबारेमा पुस महिनामा बस्ने नगरको हिउदेँ अधिबेशनले टुंगो लगाउने उहाँको भनाई छ ।

‘नगरको आन्तरिक स्रोत अन्यन्तै न्युन छ, यसबाट बाल विकास शिक्षक र बिद्यालय कर्मचारीहरुलाई मासिक सात हजारका दरले थप दिने हो भने झण्डै एक करोड बढी खर्च हुन्छ’ उहाँले भन्नुभयो ‘नगरले त्यती धेरै भार धान्न सक्दैन्, तर हिउदेँ अधिबेशनबाट केही गर्न सकिन्छ कि भन्ने सल्लाह भैरहेको छ, यस बिषयमा कार्यपालिका बैठकमा पनि छलफल हुने छ ।’ नगरका सबै बाल विकासमा ३ सय ५६ बालिका र ४ सय १० बालक गरेर ७ सय ६६ जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस