पुस्तकालय व्यवस्थापनको लागि पुनर्ताजगी तालिम प्रदान

सल्यान १५, मंसिर ।
सल्यानका बिद्यालयहरुमा स्थापना गरिएका पुस्तकालयहरुको व्यवस्थापनको लागि पुनर्ताजगी तालिम प्रदान गरिएको छ । साक्षरता कार्यक्रम लागु भएका जिल्लाका ५४ वटा विद्यालयहरुमा स्थापना गरिएका पुस्तकालयहरुको व्यवस्थापन संगै प्रयोग गर्न पुस्तकालय व्यवस्थापकलाई पुस्तकालय व्यवस्थापन पुनर्ताजगी तालिम प्रदान गरिएको हो ।

पहिलो बर्ष कार्यक्रम लागु भएका ३० विद्यालयका ६० जना शिक्षकशिक्षिकाहरुलाई दुइ दिने र दोस्रो वर्ष कार्यक्रम लागु भएका २४ विद्यालयका ४८ जना शिक्षकशिक्षिकाहरुलाई एक दिने तालिम प्रदान गरिएको हो । तालिममा पुस्तकालयको व्यवस्थापन संगै कार्यान्वयनमा आएका सफलता, चुनौती तथा समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो ।

यस्तै बालमैत्री पुस्तकालयका पक्षहरु, समुदाय तथा परिवारहरुको के कसरी संलग्नता वृद्धि गर्ने, पुस्तकालयमा उपलव्ध सामग्रीहको प्रयोग, संरक्षण के कसरी गर्ने तथा विद्यालयहरुले आगामी दिनमा पुस्तकालयलाई दिगो रुपमा प्रयोग कसरी गर्ने लगाएतका सवालमा छलफल गरिएको सामाजिक परिचालक राम भण्डारीले जानकारी दिनुभयो ।

तालिममा पढ्नका लागि कोठाका साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेल, सिनियर साक्षरता कार्यक्रम सहायक तपेन्द्र वली, दलित विकास समाज सल्यानका साक्षरता कार्यक्रम संयोजक टेकराज शाही लगाएतकाले तालिमको सहजीकरण गर्नुभएको थियो ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको समन्वय र दलित विकास समाज (डिडिएस) सल्यानको व्यवस्थापनमा तालिम सम्पन्न भएको हो । प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सीप र पढ्ने बानीको विकासमा सहयोग गर्न कपुरकोट, त्रिवेणी, छत्रेश्वरी, सिद्धकुमाख, शारदा र बागचौर नगरपालिकामा यो कार्यक्रम लागु भएको छ ।

प्रतिक्रिया दिनुहोस