हराउदैँ मगर भाषा : जीर्ण बन्दै प्रशिक्षण भवन

मगर संस्कृतिको संरक्षण र भाषा प्रशिक्षणका लागि ५० हजार विनियोजन

सल्यान १५, मंसिर ।

आदीवासी जनजाति समुदायको बाक्लो बसोबास भएको सल्यानमा मगर भाषा लोप हुदैँ गएको छ । आदीवासी जनजाति समुदायको बाक्लो बस्ती भएपनि जिल्लाका अधिकांश मगर जातिलाई मगर संस्कृति र भाषाको बारेमा जानकारी छैन् । मगर भाषा बोल्न जानेकाले पनि चलनचल्तीको रुपमा नेपाली भाषा बोल्ने र पछिल्लो युवापुस्तामा पनि यस भाषाको बारेमा जानकारी नुहदाँ मगर समुदायबाट नै मगर भाषा लोप हुन थालेको छ ।

२०६८ सालको जनगणना अनुसार जिल्लामा झण्डै ३५ हजार जनसंख्या मगर समुदायको छ । जिल्लाका अधिकांश बस्तीमा मिश्रीत जातिको बसोबास भएकाले एकाधले मात्र आफ्नो मगर भाषा बोल्ने गरेका छन् । समुदायमा विस्तारै आधुनिकताले प्रवेश गरेपछि यो समुदायको पुर्खोली चालचलन र भाषा हराउदै गएको नेपाल मगर संघ, जिल्ला कार्य समिती सल्यानका अध्यक्ष पुर्ण बहादुर बुढा मगरले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाको कारागिठी, काभ्रा, रिम, सिन्वाङ, गर्पा, झिम्पे, लेखपोखरा, शिवरथ लगाएतका ठाउँमा मगर समुदायको संख्या धेरै छ । तर पछिल्लो समय मगर संस्कृति र मगर भाषा लोप हुदैँ गएको उहाँको भनाई छ । ‘पुरानो पुस्ताले मगर भाषा बोल्ने गरेको भएपनि नयाँ पुस्तालाई भने यस बारेमा जानकारी नै छैन्, तर पछिल्लो समय हाम्रो मगर अठार खाम भाषाको बारेमा केही नयाँ पुस्ताले पनि चासो देखाउनुभएको छ’ उहाँले भन्नुभयो ‘सबै मगर समुदायले भाषा र संस्कृतिको यस बारेमा सिक्न आवश्यक छ ।’

मगर भाषा सिक्न र मगर संस्कृतिको संरक्षण गर्न भनेर २०६३ साल देखी जिल्लाको लेखपोखराको बुद्धनगरमा मगर भाषा प्रशिक्षण केन्द्र भवनको निर्माण थालनी गरियो । २०६५ सालमा भवन निर्माण भयो । शुरुका बर्षमा राम्रोसँग सञ्चालन भएको केन्द्र पछिल्लो केही बर्षयता बन्द जस्तै वनेको छ । मगर समुदायका गतिविधि सञ्चालन नहुदाँ मगर भाषा प्रशिक्षण केन्दको भवन परिसर राजनितिक दलका कार्यक्रम गर्ने स्थलको रुपमा परिणत भएको छ ।

केही बर्षपहिले सम्म जिल्लाका बिभिन्न स्थानमा गएर मगर भाषा र संस्कृतिका बारेमा प्रशिक्षण गरेपनि कोरोनाका कारण त्यस कार्यमा पनि समस्या भएको छ । स्थानिय उमलाल घर्ती मगरले मगर समुदायको भाषा र संस्कृतिका बारेमा सबै मगर समुदाय जानकार हुनुपर्ने बताउनुभयो । ‘अधिकांश मगरलाई मगर भाषा नै आउदैन्, यस बारेमा सोच्न र सिक्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

मगर भाषाको संरक्षण गर्न र नयाँ पुस्तालाई प्रशिक्षण प्रदान गर्नको लागि छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ ले चालु आर्थिक बर्षमा केही वजेट समेत विनियोजन गरेको छ । वडाअध्यक्ष लिलाधर घर्तीले मगर संस्कृतिको संरक्षण र भाषा प्रशिक्षण लागि यस बर्ष ५० हजार रुपैँया विनियोजन गरिएको बताउनुभयो । यसले मगर समुदायको संस्कृतिको संरक्षणमा टेवा पुग्ने उहाँको भनाई छ ।

‘यस वडामा मात्रै झण्डै आधा भन्दा बढी समुदाय मगरको छ, तर यहाँका अधिकांश मगर समुदायमा मगर संस्कृति छैन्, भाषाको बारेमा ज्ञान छैन्, सिमित केही व्यक्ति बाहेक अरु मगर भाषा बोल्न जान्दैनन्’ उहाँले भन्नुभयो ‘मगर भाषा र संस्कृतिको संरक्षणका लागि वडाले विनियोजन गरेको वजेटले केही सहयोग गर्ने अपेक्षा गरेका छौँ ।’ मगर भाषा र संस्कृतिको संरक्षणका लागि सबै मगर समुदाय जागरुक हुनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस