रेडियो राप्ती एफ.एम. सल्यानले आज १४ औँ बार्षिकोत्सव मनायो

सल्यान २६, मंसिर ।
सल्यानका स्थानिय तहहरुले जिल्ला भित्र नै प्रशारणमा रहेका सामुदायिक रेडियोहरुको उपयोग गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुणासो गरेका छन् । जिल्लामा रहेका एफएम रेडियोहरुले हरेक नागरिकलाई छिटो, छरितो र स्तरीय रुपमा सुचना प्रवाह गर्दै आएको भएपनि स्थानिय तहहरुले भने यसको उपयोग गर्न नसकेको सरोकारवालाहरुले गुणासो गरेका हुन् ।

शारदा मिडिया संगमद्धारा सञ्चालित रेडियो राप्ती एफ.एम. १०४.८ मेगाहर्जको १४ औँ बार्षिकोत्सवका अवशरमा आइतवार खलंगास्थित रेडियोको प्रांगणमा आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । अझै पनि जिल्लाका कुदाकन्दरामा सञ्चारका अरु साधनको पहुँच पुग्न नसकेको अवस्थामा स्थानिय एफएम रेडियो नै सुचना प्रवाहको भरपर्दो माध्यम भएको उनीहरुको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले आमनागरिकलाई सूसुचित गर्ने काम एफएम रेडियोबाट नै भैरहेको बताउनुभएको छ । तर पनि जिल्लाका स्थानिय तहहरुले जिल्लामा रहेका एफएम रेडियोको भरपुर उपयोग गर्न नसकेको उहाँको भनाई छ । उहाँले अहिले पनि रेडियोको लोकप्रियता कायमै रहेको र आगामी दिनमा पनि कायम रहने बिश्वास व्यक्त गर्नुभयो ।


‘रेडियोको बिश्वसनियता समाजमा कायमै छ, तर जिल्लाका स्थानिय तहले रेडियोको बृद्धि विकासको बारेमा सोच्नुपर्दछ’ उहाँले भन्नुभयो ‘एफएम रेडियोसँग साझेदारी गरेर अगाडी बढ्नुपर्दछ ।’ उहाँले परिवर्तित समयको माग सँगै रेडियोबाट प्रशारण हुने सामाग्रीमा पनि नयाँपन हुनुपर्ने बताउनुभयो ।

यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियोले समाजमा सकारात्मक प्रभावपार्ने खालका सामाग्री प्रशारण गर्नुपर्ने बताउनुभयो । लोककल्याणकारी बिज्ञापनलाई प्राथामिकता दिनुपर्ने बताउदैँ केन्द्र, प्रदेश र स्थानिय तहका बिचमा समन्वयात्मक सम्बन्ध कायम गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले ग्रामिण भेगहरुमा सामुदायिक रेडियोप्रतिको आकृर्षण धेरै रहेको बताउनुभएको छ । देशमा भएका आमुल परिवर्तनको बेला होस् या कोरोनाका कारण देशभरको जनजिवन अस्तव्यस्त भएको अवस्थामा होस् नागरिकको सुचनाको भरपर्दो माध्यम सामुदायिक रेडियो भएको उहाँको भनाइ छ ।


शारदा मिडिया संगमका अध्यक्ष रमेश गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव मनविर बस्नेतले गर्नुभएको थियो । सल्यान जिल्ला कै पहिलो रेडियोका रुपमा २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको यस रेडियोले सत्यतथ्य समाचार, सुचना, बिज्ञापन, गितसंगित प्रशारण गर्दै आएको छ । यस रेडियोको पहुँचमा करिब १५ लाख श्रोता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस