सल्यान २७, मंसिर ।
नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) सल्यानको अध्यक्षमा चुडामणि पुन निर्वाचित हुनुभएको छ । सोमबार जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न फोनिजको दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुन सर्वसम्मत चयन हुनुभएको हो । जसको उपाध्यक्षमा राजु पुन, सचिवमा प्रदिप घर्ती, सहसचिवमा सुस्मिता थापा र कोषाध्यक्षमा कमल बुढा रहनुभएको छ ।यस्तै सदस्यहरुमा बिशाल पुन, विजय घर्ती, नविना पुन रहनुभएको छ । तीन सदस्य पछि थप गर्ने गरी ११ सदस्यीय जिल्ला कार्य समिती चयन गरिएको छ । यस्तै सल्लाहकारमा बुद्धि पुन, हरिप्रकाश पुन र यम थापा रहनुभएको छ । यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिको लागि बुद्धि पुन र हरिप्रकाश पुनलाई चयन गरेको छ ।
फोनिज सल्यानका अध्यक्ष बुद्धि पुनको अध्यक्षतामा भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य दिपक शर्माले पत्रकारले समाज परिवर्तनको सम्बाहकको रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । आमनागरिकलाई सचेत पार्दै समृद्ध र सभ्य समाज निर्माणको लागि पत्रकारको भूमिका महत्वपुर्ण हुनेभएकाले एकढिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभएको हो ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष सरिता चलाउनेले आवाजविहिन नागरिकको आवाज बोल्ने काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । यस्तै समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य मिना बुढाथोकीले फोनिजले गर्ने कामलाई अझै बृहत बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
यस्तै जनपत्रकार संगठनका कर्णाली प्रदेश सचिव खकेन्द्र केसीले पत्रकारहरुका साझा सवालहरुमा सँगै सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । यस्तै नेपाल मगर संघ सल्यानका सचिव यम थापाले पिछडिएको बर्गको आवाज वोल्ने काम फोनिजले गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रमको सहजीकरण सचिव चुडामणि पुनले गर्नुभएको थियो ।