बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै

सल्यान २, पुस ।
सल्यानका बिद्यालयहरुमा सञ्चालन गरिएको मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको पाइएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिका भित्र रहेको २३ वटा बिद्यालयमा सञ्चालन गरिएको यस कार्यक्रम प्रभावकारी रहेको पाइएको हो । सिद्ध कुमाख गाउँपालिकाको संयोजनमा फेल्म नेपालको सहयोग र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसि) नेपालको आयोजनामा सञ्चालन गरिएको बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको सरोकारवालाहरुले जनाएका छन् ।

जसअन्तर्गत बालक्लवमा रहेका ५ सय २६ जना बिद्यार्थीहरुलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको छ । यस्तै १ हजार ५ सय ३८ जना किशोरकिशोरी बालबालिकाहरु स्वास्थ्य चेतना सम्बन्धि कार्यक्रमबाट लाभान्वित भएका छन् भने कक्षाकोठामा आधारित मनोसामाजिक प्रर्बद्धनात्मक क्रियाकलाप सञ्चालन गर्न २३ वटा बिद्यालयकलाई प्रर्बद्धनात्मक बोर्ड, बिद्यार्थी कार्यतालिका, उपस्थिती पाटी, प्रोत्साहन तालिका, सन्देश वोर्ड तथा प्रतिभा प्रर्दशनी पाटी उपलब्ध गराइएको छ ।

सिएमसि नेपालका बिद्यालय मानसिक स्वास्थ्य सुपरिवेक्षक लोक बहादुर बिकले यस गाउँपालिकाका बिद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । ‘पछिल्लो समयमा मानसिक स्वास्थ्यका कारण समाजमा बिभिन्न समस्याहरु देखा परेको अवस्थामा बिद्यालय उमेरका बालबालिकाहरुको स्वास्थ्यमा मानसिक समस्याबाट मुक्त राख्नको लागि उपलब्धिमुलक काम भएको छ’ उहाँले भन्नुभयो । यसमा बिद्यार्थी, अभिभावक र शिक्षकका बिचमा त्रिकोणात्मक सम्बन्ध स्थापित भएको उहाँको भनाइ छ ।
निराजन माद्यामिक बिद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले बिद्यार्थीहरुको व्यवहार परिर्वतन गर्न र सिकाई उपलव्धि हासिल गर्न बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । यसका लागि स्वयम् व्यक्ति आफैले आफ्नो आचरणमा परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ छ । ‘बिद्यार्थीहरुलाई भयरहित वातावरणमा पठनपाठनका कार्य सञ्चालन गर्नको लागि र उनीहरुलाई मानसिक रुपमा तन्दुरुस्त राख्नको लागि यस कार्यक्रमले महत्वपुर्ण सहयोग गरेको छ’ उहाँले भन्नुभयो ।

बिद्यार्थीहरुलाई उनीहरुको मनोभावना अनुसार पठनपाठनका कार्य सञ्चालन गर्न सकियो भने सिकाई उपलब्धि धेरै हासिल गर्न सकिने उहाँको भनाइ छ । यसका लागि बिद्यालयलाई आर्थिक रुपमा बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो । ‘किताबी ज्ञानले मात्रै बिद्यार्थीहरुको व्यवहार परिर्वतन हुदैँन्, यसको लागि उनीहरुले संस्कार सिक्नु आवश्यक छ’ उहाँले भन्नुभयो ‘सोहीअनुसार बिद्यार्थी केन्द्रित भएर नयाँ सोचका साथ काम गरिरहेका छौँ ।’

सिद्ध कुमाख गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले हरेक मानिस स्वस्थ रहेमात्रै उसले गर्ने कार्यमा सकारात्मक परिर्वतन आउने भएकाले बिद्यालय मानसिक स्वास्थ्य कार्यक्रमलाई प्रभाकारी कार्यन्वयन तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । ‘गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग गर्न हामी तयार छौँ’ उहाँले भन्नुभयो । आर्थिक उपार्जनका कार्यलाई सवल वनाउन सकियो भने मात्रै नागरिकले पनि स्वास्थ्य क्षेत्रमा ध्यान केन्द्रित गर्न सक्ने उहाँको भनाइ छ ।

सिएमसि नेपालका कार्यक्रम संयोजक मधुविलास खनालको अध्यक्षतामा बिहीबार भएको सामाजिक परिक्षण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मार्सल कुमार वली, वडा नम्बर २ का वडाअध्यक्ष रुद्र बहादुर बुढाथोकी, फेल्म नेपालका छात्रबृद्धि कार्यक्रममा कार्यरत मन्दिरा अवाले लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ सल्यानका कोषाध्यक्ष शिव डाँगीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस