सल्यान ४, पुस ।
सल्यानको सदरमुकामा सञ्चालित खलंगा सितलपाटी लिफ्ट खानेपानी आयोजनाबाट दुई हजार घरधुरी लाभान्वित भएका छन् । बर्षौदेखी खानेपानीको समस्या भोग्दै आएको यस ठाँउमा खानेपानी आयोजना सञ्चालन भएपछि झण्डै दुई हजार बढी घरधुरी लाभान्वित भएका हुन् । करिब १५ करोडको लागतमा केही बर्ष पहिले निर्माण सम्पन्न भएको यस खोनपानी श्रीनगर स्थित शारदा नदि किनारबाट लिफ्ट प्रविधि मार्फत खलंगामा ल्याइएको छ ।
यस आयोजनाबाट शारदा नगरपालिका वडा नम्बर १, २, ३, ४, ५ र १२ का स्थानीय लाभान्वित भएका छन् । विगतमा खानेपानीको अभावमा दैनिकी चलाउन समस्या भोग्दै आएका यहाँका स्थानियको अहिले दैनिकी नै फेरिएको छ । खानेपानीको जोहो गर्दै दिन विताउने गरेका स्थानिय फुर्सदिला बनेका छन् ।
खानेपानीको माग बढेसँगै घरधुरीको संख्या बढ्दै गएको खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष केशव बहादुर बुढाथोकीले बताउनुभएको छ । यस आयोजनालाई दिगो कसरी बनाउन सकिन्छ भनेर आफुहरु निरन्तर रुपमा लागि रहेको उहाँको भनाइ छ । स्थानियलाई सफा र स्वच्छ पानी खुवाउने आफ्नो मुख्य कर्तव्य भएको उहाँले बताउनुभयो । उहाँले चौँबिसैँ घण्टा नागरिकको घर घरमा पानी पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
यसैविच खलंगा सितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पाँचौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न साधारण सभामा बोल्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले यस आयोजनालाई दिगो रुपमा सञ्चालन गर्नको लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । यसको लागि गर्नुपर्ने सहयोग गर्न नगरपालिका तयार रहेको उहाँको भनाइ छ ।
संस्थाका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको साधारण सभामा उपाध्यक्ष मौसमदास श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालनसचिब सुधन श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाहरु सहित खानेपानी उपभोक्ताहरुको सहभागिता रहेको थियो ।