सल्यानका बालबालिकाहरुलाई ३० हजार मात्रा मोर्डना खोप लगाइदैँ

पहिलो दिनमा १ सय १२ जनाले खोप लगाए

सल्यान ५, पुस ।
सल्यानका १२ देखी १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोरोना भाइरस बिरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । आइतवार जिल्लाको त्रिबेणी गाउँपालिका स्थित लुहाममा रहेको सल्यान पब्लिक स्कुलमा मोर्डना खोपको पहिलो मात्रा लगाएर शुरुवात गरिएको हो । सोमबार देखी जिल्लाभरका सबै बिद्यालयबाट १२ बर्ष देखी १७ बर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले पहिलो दिनमा लुहाममा मोर्डनाको खोप लगाएर अभियान शुरुवात गरिएको जानकारी दिनुभयो । पहिलो दिनमा १ सय १२ जना बालबालिकाहरुलाई खोप लगाइएको उहाँको भनाई छ । यही पुस १४ गतेसम्म खोप अभियान सञ्चालन हुने छ । जिल्लामा नै पहिलो पटक मोर्डना खोपको पहिलो मात्रा लगाउन थालिएको उहाँको भनाइ छ ।

यसका लागि जिल्लामा करिब ३० हजार मात्रा मोर्डना खोप प्राप्त भएको छ । यसले जिल्लामा रहेका १२ देखी १७ बर्ष उमेर समुहका सबै बालबालिकाहरुलाई पुग्ने उहाँले बताउनुभयो । मोर्डना खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनु पर्दछ । जिल्लामा हालसम्म भेरोसेल, कोडिशिल्ड र जोन्सन एण्ड जोन्सन लगाइएको थियो ।

स्वास्थ्य सेवा कार्यलय सल्यानका अनुसार जिल्लाभर हालसम्म करिब ६० प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन् । जिल्ला करिब ३५ प्रतिशत नागरिकले पुर्ण मात्रा खोप लगाएको कार्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस