पोषण सुधारको लागी बागचौरका जनप्रतिनिधिहरुको सामुहिक प्रतिबद्धता

सल्यान ७, पुस ।
सल्यानको बागचौर नगरपालिकामा पालिकास्तरीय एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितताका लागि कार्ययोजना तयारी गोष्ठी मंगलबार सम्पन्न भएको छ । सोमबार र मंगलबार गरि दुई दिनसम्म संचालन भएको कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु कुपोषणको सिकार भएमा समग्र आर्थिक तथा सामाजिक बिकासमा समेत बाधापुग्ने भन्दै हजार दिने आमा तथा बालबालिकाहरुलाई पोषणयुक्त खानेकुराको उपलव्धता गराउनुपर्ने साथै सरसफाईमा पनि बिशेष ध्यानदिनु पर्ने बताएका थिए ।

कार्यक्रममा अहिलेका बालबालिकाहरु भोलीका युग भएकाले बालबालिकाको स्वास्थ्य, पोषण र सरसफाईका लागी नगरपालिका भित्र विशेष अभियानको थालनी गर्न सबैले प्रतिबद्दता जनाएका छन । यस नगरपालिकाबाट कुपोषण हटाउन सबै सरोकारवालाहरुले भुमिका खेल्नु पर्ने भन्दै कुपोषण न्युनिकरण गर्न घर घर र वस्तीस्तरबाट कार्यको शुरुवातगर्नु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रममा सुआहारा कार्यक्रमका कर्णली प्रदेश बरिष्ठ प्रदेश संयोजक सुरज कुमार शर्माले सकारात्मक सोंचका विषयमा प्रस्तुती राख्दै व्यवहार परिवर्तन आफैबाट शुरुवातगर्नु पर्ने विषयमाजोड दिनु भएको थियो । यस्तै सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले मानबजीवनमा पोषणको महत्व र पोषण प्राप्त गर्नको लागी स्थानीयस्तरमा उपलव्ध हुने खाद्य बस्तुहरुको महत्व र उपयोगका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लोकमान बुढाथोकीले समग्र नगरपालिकाको पोषण अवस्था सुधार गर्नको लागी सबै जनप्रतिनिधिहरु र कर्मचारीहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भयो । सो अवसरमा नगरपालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागी २४ बुँदे नीतिगत प्रतिवद्धता गर्दै उक्त प्रतिबद्धताहरु पुरा गर्नको लागी बिभिन्न बिषयगत क्षेत्रलाई समेटेर सम्भाबित ५२ प्रकारका एकिकृत क्रियाकलापहरु तयार गरिएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा युयसएआइडीको सहयोगमा दलित विकास समाज सुआहारा कार्यक्रमको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रमका सहभागीहरुलाई उपप्रमुख कल्पना पुनले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन स्वास्थ्य शाखा प्रमुख हरिबहादुर कठाएतले गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस