कक्षा कोठामा खाल्टै खाल्टा !

'सरकार बेखवर-मौन बिद्यालय व्यवस्थापन समिती'

सल्यान ७, पुस ।
सल्यानको शारदा नगरपालिकाले सामुदायिक बिद्यालयहरुलाई प्रविधिमैत्री बनाउदैँ लगेको जनाएको छ । बर्षेनी लाखौँ रुपैँया शिक्षा क्षेत्रमा विनियोजन गर्छ । स्तरीय भवन निर्माण, इहाजिरी, सिसि क्यामरा जडान, बिद्यालयहरुमा ल्याप्टप वितरण गर्दै आएको छ । जसले गर्दा बिद्यार्थीहरुले प्रविधिमैत्री वातावरणमा पढ्न पाउने नगरपालिकाको दावी छ ।

तर शारदा नगरपालिका भित्रकै एउटा यस्तो बिद्यालय छ, जहाँ नगरपालिका र वडा कार्यालय कसैको नजर पर्न सकेको छैन् । जसका कारण सुनौलो भबिष्य बोकेर बिद्यालय पुग्ने बालबालिकाहरुको भबिष्य नै अन्यौलतामा पर्न थालेको छ । यसको उदाहरण हो शारदा नगरपालिका ९ बागचौरमा रहेको कृष्ण आधारभूत बिद्यालय ।

जीर्ण बिद्यालय भवन, शौचालय जीर्ण, खानेपानीको अभाव, घेरवार नहुदाँ समस्या छ नै । तर त्यो भन्दा ठुलो समस्या यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई पुसमाघको जाडोमा कसरी पढ्ने भन्ने चिन्ता छ । झ्याल ढोकाका पल्ला छैनन् । कक्षाकोठामा बेन्च, डेस्क छैनन्, मात्रै ठुला ठुला खाडल छन् । बिद्यार्थीहरु यो चिसोमा पनि एकसरो कार्पेटमा दिनभर बसेर पढ्दै आएका छन् ।

 

कक्षा ४ मा अध्ययनरत एक बिद्यार्थीले बिद्यालयमा आउनुभन्दा घरमै बसेर पढ्न आनन्द हुने बताए । चिसोका कारण भुइमा बसेर पढ्न निकै गाह्रो भएको उनको भनाई छ । ‘चिसोमा पढ्न मनै लाग्दैन्, कति बेला घन्टी बज्ला र बाहिर घाम ताप्न जाउला हुन्छ’ उनी भन्छन् ‘सरहरुले भित्र बसेर पढ भन्नुहुन्छ, बाहिर गाइबाख्रा आएका हुन्छन्, बाहिर बसेर नि पढ्न मिल्दैन् ।’

उनीहरु जस्तै यहाँ पढ्ने धेरै बिद्यार्थीहरुले चिसोमा बसेर पढ्न बाध्य छन् । कक्षा ८ सम्म सञ्चालित यस बिद्यालयमा झण्डै २ सय बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । बेला बखतमा बिद्यालयमा पुग्ने गरेका नगरपालिका र वडा कार्यालयका जनप्रतिनिधिहरुले आश्वासन बाहेक अरु केही दिदैनन् । कार्यकाल सकिनै लाग्ला समेत यस बिद्यालयमा एक रुपैँया पनि वजेट बिनियोजन गर्न नसकेको एक जनप्रतिनिधिले बताए ।


पाँच मध्ये चार भवन जीर्ण
यस बिद्यालयमा पाँच वटा भवन रहेका छन् । ती मध्ये ४ वटा भवन नाजुक अवस्थामा छन् । गत बर्ष शिक्षा कार्यालय मार्फत निर्माण गरिएको भवन बाहेक अरु सबै भवन नाजुक रहेको बिद्यालय स्रोतले जनाएको छ । भवन जीर्ण हुदाँ कार्यालय व्यवस्थापन देखी बिद्यार्थीहरुको बसाई समेत व्यवस्थित गर्न नसकेको बिद्यालयका निमित्त प्रधानाध्यापक चिन बहादुर बुढाथोकीले बताउनुभयो ।

‘२०३७ सालमा स्थापना भएको बिद्यालयमा संरचनागत रुपमा सुधार आउन सकेको छैन्, पर्याप्त बेन्चडेस्क नहुदाँ कक्षा ४ र ५ का बिद्यार्थीहरुलाई एउटा कार्पेटको भरमा पढाउन बाध्य छौँ’ उहाँले भन्नुभयो ‘बाहिर चौरमा बसेर पढाउने पनि वातावरण छैन्, तारबार नहुदाँ खुल्ला रुपमा मानिसहरुको आवतजावत भैरहन्छ, गाइबस्तु देखी स्थानियको कुखुरा समेत बिद्यालय परिसरमा आउँछन् ।’

बिद्यालयमा भएका संरचनागत सुधारको लागि वडा कार्यालय हुदैँ नगरपालिकामा माग गर्दा समेत आश्वासन बाहेक अरु केही नपाएको उहाँको भनाई छ । ‘बिद्यालयको आफ्नै स्रोत केही छैन्, तीन जना शिक्षक दरबन्दीमा र एक जना राहतमा हुनुहुन्छ, बाँकी निजि स्रोतबाट शिक्षक भर्ना गरे बिद्यालय सञ्चालन गरेका छौँ’ उहाँले भन्नुभयो ‘तत्काल बिद्यार्थीहरुको बसाइ व्यवस्थापन गर्न पाय सहजता हुने थियो ।’


आय स्रोत नहुदाँ बिद्यालय सञ्चालन गर्न समस्या

यस बिद्यालयमा आय स्रोत नहुदाँ समस्या भएको अभिभावकहरुको भनाइ छ । ‘बिद्यालयको आयस्रोत केही पनि छैन्, निजि शिक्षक समेतलाई तलव खुवाउन समस्या छ’ स्थानिय शंकर बोहराले भन्नुभयो ‘बिद्यार्थीहरुबाट शुल्क उठाउन पाइदैन्, अभिभावकहरुबाट लिइएको रकमले बिद्यालय सञ्चालन भैरहेको छ ।’ तर यस बारेमा बिद्यालय व्यवस्थापन समिती पनि मौन रहेको उहाँको आरोप छ ।

बिद्यालयमा आम्दानीको स्रोत बढाउन लागि आम्दानी दिने खालका फलफूल रोपेर अगाडी बढ्न सकिने उहाँको भनाई छ । ‘नगरपालिका भित्रको बिद्यालयको अवस्था यस्तो छ, अझै नगरपालिकाले प्रविधिमैत्री शिक्षाको कुरा गरिरहेको छ, साना कुराहरुको सुधार नहुदाँ सम्म जती भाषण गरेपनि अर्थ रहदैन्’ उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस