सल्यान ११, पुस ।
साविकको राप्ती अञ्चलको लाइफ लाइनको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नतीको काम छिटो सम्पन्न गर्न माग गरिएको छ । २०४२ सालमा ट्र्याक खोलिएको यस सडक दाङको अमेलिया देखि रुकुम पश्चिम मुसिकोट सम्म १६८.६८ किलोमिटरमा रहेको छ । सडकको ट्र्याक खोलेको झण्डै चार दशक हुदाँ पनि सडकको स्तरोन्नती नहुदाँ यात्रुले सास्ती पाएको भन्दै तत्काल सडकको स्तरोन्नती गर्न माग गरिएको हो । सडकको मर्मत तथा स्तरोन्नती नहुदाँ बर्खामा धुलो र हिउदँमा धुलोका कारण नागरिकले सास्ती पाउदैँ आएका छन् ।
दाङको तुलसीपुर देखी सल्यान खण्डतिर २०७० सालमा कालोपत्रे गरिएको थियो । चौबीसै घण्टा व्यस्त रहने यो सडकमा कालोपत्रे उम्किएपछि ग्रामीण कच्ची सडक झै बनेको छ । कालोपत्रेको नमुना नै सकिएर खाल्डाखुल्डी र साँघुरो सडकमा तिव्र गति, क्षमता भन्दा बढी यात्रु तथा ओभर लोड जस्ता कारणले यात्रुहरुले जोखिमपुर्ण यात्रा गर्दै आएका छन् ।
यस सडकको स्तरोन्नतीको कामलाई तत्काल अघि बढाएर छिटो सम्पन्न गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले आइतवार जिल्ला प्रशासन कार्यालय सल्यानमा ध्यानाकर्षण पत्र बुझाएको छ । सडकको मर्मत सुधार गर्नुपर्ने, सफा गर्ने, खाल्डाखुल्डी पुर्ने काम तत्काल गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै सडकको स्तरोन्नतीको क्रममा सिमित मात्रमा डोजर, टिप्पर जस्ता साधनको प्रयोग गरी काममा ढिलाई गर्दा यात्रुले महिनौँ दिनसम्म सास्ती पाउने भएकाले बढी मेसिन औजारको प्रयोग गरेर छिटो काम सम्पन्न गर्नुपर्ने, यस सडकको स्तरोन्नती गरेर कालोपत्रे गर्नका लागि बहुबर्षिय ठेक्का लगाउनुपर्ने उल्लेख गरिएको छ ।
यसअघि सडकको स्तरोन्नतीको लागि विनियोजन भएको वजेट समयमा नै कार्यान्वयनमा नल्याउदाँ फ्रिज भएकाले कार्यान्वयन गर्ने निकाय जिम्मेवार बन्नुपर्ने र तत्काल जिल्लाका जनप्रतिनिधि, सबै राजनितिक दल, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायि सहितको सर्वपक्षिय बैठक आयोजना गरि आवश्यक निर्णय गरि सरकारसँग आवश्यक पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष उदय बहादुर बोहरा, केन्द्रिय सदस्य धिरेन्द्र बहादुुर श्रेष्ठ, केन्द्रिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा, पार्टी सचिव रमेश गौतम लगाएको उपस्थिती रहेको थियो । गत मंसिर २ गतेको पार्टीको जिल्ला कमिटीको निर्णय बमोजिम ध्यानाकर्षण पत्र बुझाइएको पार्टीले जनाएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी होमागाईले यस सडकको स्तरोन्नतीको काम छिटो सम्पन्न गर्नको लागि आफुले पहल गरिरहेको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टीले उठाएका मागहरु सान्र्दभिक रहेको भन्दै उहाँले जीर्ण सडकका कारण यात्रुहरुले सास्ती पाएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । राप्ती लोकमार्गको दिगो रुपमा समस्या समाधानको लागि पार्टीले उठाएको माग बमोजिम नै आफुले यही पुस महिनाभित्रमा सर्वपक्षिय बैठकको आयोजना गरेर निष्कर्षमा पुुग्ने उहाँको भनाइ छ ।
यसैविच राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड दैनिक ३ पटक गरेर ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । कपुरकोट–चोरखोला सडक खण्डमा सडक स्तरोउन्नती हुन लागेकोले आइतवार देखी पुस २५ गतेसम्म सडक दैनिक ८ घण्टा बन्द हुने छ ।