आलु र टमाटरमा पछौटे डढुवा रोगको सम्भावना : सचेत रहन किसानलाई आग्रह

सल्यान १३, पुस ।
केहीदिन यता मौसममा आएको परिवर्तनले आलु र टमाटरमा पछौटे डढुवा रोगको सम्भावना धेरै भएकाले सर्तकता अपनाउन किसानहरुलाई आग्रह गरिएको छ । कृषि बिकास कार्यालय सल्यानले एक सुचना जारी गर्दै केहीदिन यता मौसममा परिर्वतन आइ हल्का बर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएकाले जिल्लामा आलु र टमाटर खेती गर्दै आएका किसानहरुलाई सर्कतकता अपनाउन आग्रह गरेको हो ।

जिल्लाका अधिकांश किसानहरुले आलु र टमाटर खेती गर्दै आएका छन् । हिउदेँ सिजनमा गरिने यस खेतीलाई बर्षाले असर गर्नसक्ने कार्यालयले जनाएको छ । जिल्लाको शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, सिद्धकुमाख गाउँपालिका लगाएतका बिभिन्न स्थानहरुमा हिउदेँ आलु खेती हुदैँ आएको छ । यस्तै कपुरकोट, रिम, सिन्वाङ गरिज्युला, बन्गाड, बरला, थारमारे लगाएतका क्षेत्रहरुमा टमाटर खेती हुदैँ आएको छ ।

पछौटे डढुवा रोग मख्यतया आलु र टमाटर बालीमा लाग्दछ । विरुवाको विभिन्न भागहरुमा यो रोग लाग्दछ । शुरुमा पातमा खैरो कालो सानो दाग देखा पर्दछ । पछि रोग छिटै फैलिएर पात र डांठको ठुलो भाग ढाक्दछ । टमाटर बालीको फलमा वा आलुको दानामा पनि यसले आक्रमण गर्नेगर्दछ ।

यसले कहिलेकाही ८० प्रतिशत भन्दा बढी उत्पादनमा ह्रास आउने सम्भावना हुन्छ । जसका कारण भण्डारमा धेरै आलु कुहिन्छ । बढि तापक्रम, बादल लागेको वा हल्का पानी परेको वा हावाको ओसिलोपना भएको वेला यसको प्रकोप धेरै फैलने गरेको कार्यालयका निमित्त प्रमुख भरत बहादुर बस्नेतद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

पछौटे डढुवा रोगबाट आलु र टमाटरलाई बचाउनको लागि किसान आफै सजक हुनुपर्ने कार्यालयले जनाएको छ । यो रोग देखिना साथ कपर अक्सीक्लोराइड ५० प्रतिशत, डब्लु.पी. २.५ ग्राम वा म्यान्कोजेव ७५ प्रतिशत डब्लु.पी. २.५ ग्राम वा क्लोरथालोनील ५०प्रतिशत डब्लु.पी. १.५ ग्राम प्रति लिटर पानीको दरले पातको दुवै तर्फपर्ने गरी छर्कनु पर्ने कार्यालयले जनाएको छ ।

यस्तै डाइमेथोमर्फ ५० प्रतिशत डब्लु.पी १.५ ग्राम वा फेनामिडन १० प्रतिशत र म्यान्कोजेव ५० प्रतिशत डब्लु.पी २.५ ग्राम प्रति लिटर पानीको दरले ७ देखी १० दिनको बिचमा स्प्रे गर्नुपर्ने जनाइएको छ । यस्तै पुरानो वोटका अवशेष, नाभो विरुवा तथा झारपातहरु हटाइ खेत सफा राख्ने, बालीमा सिफारिस अनुसारको सन्तुलित मलखाद प्रयोग गर्ने तथा बालीको निरिक्षण नियमित गर्ने र रोग देख्ना साथ व्यवस्थापनका उपाय अपनाउदा पछौटे डढुवा रोगका कारण हुने क्षतीलाई कम गर्न सकिने कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस