सल्यानमा २४ हजार नयाँ मतदाता थपिए

सल्यान १४, पुस ।
सल्यानमा झण्डै २४ हजार नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएपछि जिल्लामा हाल कुल मतदाताको संख्या एक लाख ५८ हजार २ सय ९६ पुगेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । २०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाभर एक लाख ३४ हजार २ सय १३ मतदाता रहेका थिए ।

गत मंसिर १७ गतेदेखि निर्वाचन आयोगले शुरु गरेको फोटोसहितको मतदाता नामावलीमा नाम छुटेकोहरुको नामावली सङ्कलन गर्ने कार्यक्रम अन्र्तगत मात्रै जिल्लामा ११ हजार ८ सय ५४ मतदाताको नामावली संकलन गरिएको छ । गत कार्तिक सम्म जिल्लाभर एक लाख ४६ हजार ४ सय ४२ मतदाता रहेका थिए ।

निर्वाचन आयोगले छुटेका मतदाताहरुको फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन गाउँ तथा नगरपालिकाको केन्द्रमा २० दिनसम्म मतदाता नामावली सङ्कलनको कार्यक्रम राख्दा छुटेका ९ हजार २ सय २५ जना मतदाताको नामावली सङ्कलन भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसमा सबैभन्दा धेरै बागचौर नगरपालिकामा २ हजार एक सय १७ जनाको नामावली संकलन गरिएको छ ।

यस्तै दार्मा गाउँपालिकामा १ हजार ८ सय ११, कुमाख गाउँपालिकामा १ हजार ३ सय ३४, त्रिबेणी गाउँपालिकामा ९ सय ७५, छत्रेश्वरी गाउँपालिकामा ७ सय ३५, कालिमाटी गाउँपालिकामा ७ सय २७, कपुरकोट गाउँपालिकामा ६ सय ८९, बन्गाड कुपिण्डे नगरपालिकामा ४ सय ८६ र सिद्ध कुमाख गाउँपालिकामा ३ सय ५१ जनाको नामावली संकलन गरिएको छ ।

यस्तै गत मंसिर महिनापछि जिल्ला निर्वाचन कार्यालयबाट एक हजार एक सय ६०, जिल्ला प्रशासन कार्यालयबाट एक हजार ८० र पुस महिनायता इलाका प्रशासन कार्यालय थारमारेबाट ३ सय ८९ जनाको नामावली संकलन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सल्यानका सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले फोटोसहितको मतदाता नामावलीको लागि नेपाली नागरिकता प्राप्त गरेका सबैको नामावली संकलन गरिएपनि निर्वाचनको मिती घोषणा हुदाँ १८ बर्ष पुगेकाले मात्रै मतदान गर्ने पाउने बताउनुभयो ।

‘जिल्लामा केहीको मृत्यु भएको छ, यो विचमा ८६ जनाले बसाइसराई गरेर जिल्ला बाहिर जानुभएको छ, नागरिकता प्राप्त गरेपनि केहीको उमेर १८ बर्ष नपुगेकाले मतदान गर्ने मतदाताहरुको संख्या भने केही कम हुन्छ’ उहाँले भन्नुभयो । अहिले जिल्लाका बिभिन्न स्थानिय तहमा पुगेर संकलन गरिएका नामावलीहरुको अध्यावधिक गर्ने काम भैरहेको उहाँको भनाइ छ ।

पालिकामा पुगरे नामावली संकलनको काम सम्पन्न भएपनि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय थारमारेबाट नयाँ नामावली संकलनको काम भैरहेको उहाँले बताउनुभयो । यस्तै त्रुटि सच्याउने, बसाइसराई लगाएतका काम जिल्ला निर्वाचन कार्यालयबाट भैरहेको छ । उहाँले पुस १९ गतेसम्म यो कार्य जारी रहने र निर्वाचन आयोगको निर्णय बमोजिम थप कार्य अगाडी बढाइने बताउनुभयो ।

आयोगले निर्वाचनको मिती घोषणा गर्ने तयारी गरेकाले सोही अनुसार जिल्लामा पनि तयारी भैरहेको सुचना अधिकारी चन्दले जानकारी दिनुभयो । जिल्लामा मतदाता नामावलीमा नाम सङ्कलनका लागि राजनैतिक दलले चासो पनि दिन थालेका छन् । हिजोआज नामावलीमा नाम दर्ता गर्न छुटेका तथा त्रुटि सच्याउने, नयाँ बनाउनेको समेत भिड लाग्ने गरेको छ ।

‘राजनीतिक दलहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि गाउँबाट मतदाताहरुलाई मतदाता नामावली संकलन स्थलसम्म ल्याउने, फाराम भर्न सहयोग गर्ने लगाएतका कार्य गर्दैआएका छन्, कार्यालयले भन्यो । सल्यानमा संघिय निर्वाचन क्षेत्र एउटा मात्रै रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस