पानी परे कक्षाकोठा खाली !

सल्यान १७, पुस ।
सल्यानको एक सामुदायिक बिद्यालयको छाना हावाहुरीले उडाएको झण्डै दुइ बर्ष पुग्न थालेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १० पैयाखर्कमा रहेको जनता प्राथामिक बिद्यालयको छाना हावाहुरीले उडाएको झण्डै दुइ बर्ष पुग्न थालेको हो । २०७६ साल चैत ११ गते बेलुकी आएको हावाहुरीले जस्तापाताले छाएको दुइ कोठे बिद्यालय भवनको छाना उडाएको थियो ।

बिद्यालयको छाना हावाहुरीले उडाएपछि बिद्यार्थीहरु खुला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । चैतबैशाखको टन्टलापुर घाममा होस् या असारसाउनको बर्खे झरीमा होस् बिद्यार्थीहरु छाना नभएको त्यही कक्षाकोठामा बस्दै आएका छन् । यसबाट शिशुकक्षा र कक्षा १ मा अध्ययनरत बालबालिकाको प्रभावित भएको छ । पानी परेको दिनमा बालबालिकाहरु बिद्यालयमा पढ्न नै नआउने गरेको बिद्यालयका प्रधानाध्यापक डम्बर चलाउनेले बताउनुभयो ।

‘बिद्यालयको छाना हावाहुरीले उडाएको झण्डै २ बर्ष पुग्न थालेको छ, मर्मत गर्ने पैसा बिद्यालयमा भएन्, अन्य समयमा जसोतसो पठनपाठन भैरहेको भएपनि बर्खामा समस्या भयो, कोरोनाका कारण केही समय बिद्यालय बन्द भै रह्यो’ उहाँले भन्नुभयो ‘पानी परेको दिन र आकासमा बादल लागेको दिन बालबालिकाह पढ्न आउदैनन् ।’ शिशुकक्षा, कक्षा १ र कक्षा २ का बिद्यार्थीहरुलाई सँगै राखेर पढाउने प्रयास गरेपनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।

२०३३ सालमा स्थापना भएको यस बिद्यालयमा अहिले ६३ जना बालबालिकाले अध्ययन गरिरहेका छन् । प्रर्याप्त बिद्यालय भवन नभएको यस बिद्यालयमा दरबन्दीका तीन, बालबिकास शिक्षक एक र कार्यालय सहयोगी एक जना कार्यरत रहेका छन् । हावाले उडाएको बिद्यालय भवनको छाना राख्न नसक्दा पानी परेको दिन शिशु कक्षा र कक्षा १ का बिद्यार्थी बिद्यालयमा पढ्न नआउने गरेको एक बिद्यार्थीले बताए ।

बिद्यालयका प्रधानाध्यापक चलाउने हावाले छाना उडाएको भवनको नयाँ छाना राख्नको लागि माग गरेपनि नगरपालिकाले बेवास्ता गरेको बताउनुभयो । ‘बिद्यालय व्यवस्थापन समितीको बैठकबाट निर्णय गरेर नै नगरपालिकामा छाना मर्मतको लागि वजेट माग गरेका थियौँ, तर यहाँबाट हुदैन्, प्रशासनले दुइ÷चार हजार रुपैँया दिन्छ, उतै जानुहोस् भनेर फर्काइदियो’ उहाँले भन्नुभयो ।

यसैविच हावाले छाना उडाएको भवनको मर्मतको लागि शारदा नगरपालिका वडा नम्बर १० ले तीन लाख रुपैँया विनियोजन गरेको छ । यसैबर्ष पुर्ननिर्माण सम्पन्न गर्ने गरी तीन लाख रुपैँया विनियोजन गरेको वडाअध्यक्ष रेशम बहादुर बुढाथोकीले जानकारी दिनुभयो । भवनको छाना राख्नको लागि नगरपालिकामा धेरै माग गरेपनि वजेट विनियोजन नभएपछि वडामा रहेको बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

यसका लागि सम्झौता भैसकेको तर कामको शुरुवात नभएको बिद्यालयले जनाएको छ । अवको केही दिनमा नै कामको थालनी हुने जनाइएको छ । जस्तापाता राख्नको लागि नयाँ ट्रस्ट निर्माण, जस्तापाता खरिद, भुइमा प्लास्टर लगाएतका कार्यगर्न बजेट प्रर्याप्त नभएपनि जस्तापाता राखिए पठनपठन कार्यलाई सञ्चालन गर्न सहजता हुने बिद्यालयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस