बिकास र समृद्धिको लागि पनि खेल आवश्यक छ : ज्वाला

जिल्ला स्तरीय भलिवल खेलाडीको छनोट प्रतियोगिता शुरु

सल्यान २७, पुस ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रको बिकास र समृद्धिको लागि खेल आवश्यक रहेको बताउनुभएको छ । उहाँले खेल क्षेत्रलाई व्यवसायिक बनाउन सकियो भने यसले राष्ट्रको बिकास र आर्थिक समृद्धिको लागि पनि टेवा पुर्याउने बताउनुभएको हो ।

कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री कपका लागी सल्यान जिल्ला स्तरीय भलिबल छनोट प्रतियोगिताको मंगलवार लुहापिङमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कर्णाली प्रदेशका पुर्वआर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका ज्वालाले खेल खेल्नको लागी अभ्यास र अनुशासन मुख्य कुरा भएको बताउनुभयो ।

‘खेलले एकातिर स्वास्थ्यलाई फाइदा गर्छ, शरिर फुर्तिलो बनाउन मद्धत गर्छ भने अर्कोतर्फ देश र राष्ट्रियताको पहिचान जोगाउन मद्धत गर्छ’ उहाँले भन्नुभयो ‘खेल जित्नका लागि खेलिन्छ तर यसले बिभिन्न क्षेत्रहरुमा फाइदा गर्दछ ।’ उहाँले खेल क्षेत्रको बिकास र खेलाडीहरुलाई प्रोत्साहन गर्नु राज्यको मुख्य दायित्व भएको बताउनुभएको छ । निरन्तर रुपमा अभ्यास गर्दै खेलक्षेत्रमा अगाडी बढ्न सकियो भने खेलाडीहरुको भबिष्य नै उज्ज्वल हुने उहाँको भनाइ छ ।

यस्तै कर्णाली प्रदेश खेलकुद बिकास परिषदका सदस्य सचिब बिश्वमित्र सन्ज्यालले खेल क्षेत्रको बिकासका लागि कर्णाली प्रदेशका सबै जिल्लाहरुमा कवर्डहल निर्माणको तयारी गरिएको बताउनुभयो । सल्यान जिल्लामा भलिबल कोच नभएको अवस्थामा यसको पदपूर्तिको लागि पहल गरिने उहाँको भनाइ छ ।

जिल्ला खेलकूद बिकास समिती सल्यानका अध्यक्ष खड्ग आचार्यले कर्णाली प्रदेश स्तरीय भलिबल खेलमा सहभागि हुनको लागि जिल्लाका सबै पालिकाहरुको सहभागितामा खेल सञ्चालन भैरहेको बताउनुभएको छ । यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर प्रदेश स्तरीय खेल खेल्नको लागि पठाइने उहाँले बताउनुभयो ।

सो अवशरमा भलिबलका राष्ट्रिय रेफ्री द्रोण प्रकाश चन्दले हरेक खेलाडीहरुले खेल खेल्नको लागि आधारभूत नियमहरुको बारेमा अनिवार्य जानकार हुनुपर्ने बताउनुभएको छ । जिल्ला खेलकूद बिकास समितीका सदस्य सचिब तुफान ओलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको उद्घाटन कार्यक्रमको सहजीकरण कार्यालय प्रमुख शिवराज अधिकारीले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस