‘चिहान’ विवादले स्थानियको बिचमा द्धन्द्ध

सल्यान ३०, पुस ।
दस बर्ष लामो माओवादी जनयुद्ध सकिएर नेपाली समाज सकारात्मक शान्तिको अवस्थामा रहेकोछ । समाजमा दिगो शान्ति र बिकासका लागि संबिधान कार्यान्वयनको अवस्थामा छ । तर जात, धर्म, लिंग, बर्ग, समुदाय, बिचको द्धन्द्ध भन ेअझै कायमै छ । यसको एउटा उदाहरण हो सल्यानको बागचौर नगरपालिका ९ जलेखर्कमा चिहानको विषयमा स्थानियहरु विचको द्धन्द । चिहानको विषयमा विवाद उत्पन्न हुदाँ स्थानियहरु विच द्धन्द बढेको छ ।

जलेखर्कमा रहेको करिब डेढ सय वर्ष पुरानो समाधीस्थल प्रयोग भैरहेको भएपनि पछिल्लो समयमा स्थानीयहरुले एक आपसमा विवाद शुरु गरेका छन् । समाधीस्थल सोहि ठाउँमा कायमै राख्नेकी स्थानान्तरण गर्ने भन्ने विषयमा गाउँलेहरु दुई पक्षमा विभाजित भएका छन् । चिहानका कारण बढेको द्धन्दले वर्षौँदेखिको गाउँलेहरु विचको सम्वन्ध विग्रदै गएको छ ।

एउटा पक्षले बर्षौ पहिले देखी प्रयोग गरिरहेको पितृकोटमा रहेको समाधी स्थलकायमै राख्ने भन्दै आएको छ भने अर्को पक्षले बस्ती विस्तार भएकोले समाधीस्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राखेका छन् । जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका छन् । उनिहरुले मृत्युपछि चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन छ ।

आफुहरु मरेपछि बस्ने स्थायी घर नै समाधिस्थल भएकाले पुर्खाहरुको शव राखिएको ठाँउ सार्न नमिल्ने स्थानिय चक्र बहादुर कुँवर योगीले बताउनुभयो । ‘हाम्रो पुर्खाहरुको यसै पितृकोटमा समाधीहरु छन्, हामी पनि मृत्यु पछि यही बस्ने हो’ उहाँले भन्नुभयो ‘हाम्रो घर अस्थायी हो यो चिहान नै हाम्रो स्थायी घर भएकाले मृत्यु पछि हाम्रो पुर्खाहरुसंग नै हामी पनि बस्न चाहन्छौ ।’

स्थानियहरुको विवादपछि आफुहरुले सोहि स्थानमा अमिन बोलाएर चिहानको लागी जग्गा छुट्याएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि हामीले आफ्नो ठाउँमा समाधी बनाउन नपाउने यो कस्तो अन्याय हो ? जब यहाँ कसैको मृत्यु हुन्छ, यो ठाउँमा चिहान नबनाउनु होला भनेर त्यो घरमा चिठ्ठीहरु भेटिन्छ ।’

मानिसलाइ एक अकल्पनिय दुख परेको बेला छिमेकीहरुले छोडेको यस्तो पत्रहरुले झनै दुखी बनाउने गरेका उहाँको भनाइ छ । ‘यहाँ घेरवारको लागि समेत केही वजेट वडाले विनियोजन गरेको थियो, गत बिबाद हुदाँ कार्यन्वयन नै नभएर फ्रिज गयो’ उहाँले भन्नुभयो ‘जे होला होला तर हामी समाधिस्थल यहाँबाट अनेत्र सार्न सक्दैनौँ ।’

यता अर्कोपक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफुहरुलाइ समस्या भएको बताएका छन् । पुर्खौदेखी यस स्थानमा मानिसहरुको समाधिष्ट गरिदै आएपनि अब भने बस्ती विस्तार हुनथालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमा वली गिरीले बताउनुभयो । घर नजिकै रहेको चिहान स्थलमा लासहरु ल्याउँदा महिला र बालबालिकाहरुलाइ डर तथा त्रास हुने गरेको उहाँको भनाइ छ ।

‘घरदेखी करिब एक सय मिटर नजिकै चिहान छन्, छोराछोरीहरुलाई सम्झाउनै ठिक्क हुन्छ, गाइबाख्रा चराउन, घाँस काट्न समेत जादैनन्, घरमा उनीहरु एक्लै बस्दैनन्’ उहाँले भन्नुभयो ‘लास ल्याएको केही दिनसम्म त हाम्रो बास छिमेकीको घरमा हुन्छ, दिनभर घरमा हुन्छौ, साँझ आफन्तको जान्छौँ ।’ उहाँले अहिलेको समाधिस्थलाई घेरबार गरेर संरक्षण गर्ने र बस्तीदेखी टाढा नयाँ समाधिस्थल बनाउनुपर्ने बताउनुभयो ।

चिहानको सम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे, वडा कार्यालय हुँदै नगरपालिका सम्म पुगेको छ । यस विषयमा सम्बन्धित सरोकारवालाहरुले पटक पटक दुबै पक्षहरुबीच सहमती गराएपनि कार्यान्वयन भने हुन सकेको छैन् । बागचौर नगरपालिकाका उपप्रमुख कल्पना पुनले यस विवादको समाधानको लागि प्रयास गरेपनि सफल हुन नसकेको बताउनुभयो ।

‘चिहानका बिषयमा विवाद नगरपालिकामा समेत आइपुगेको थियो, हामीले मेलमिलापको लागि पहल गरेका हौ तर सफल भएन’ उहाँले भन्नुभयो ‘यसबर्ष केके भैरहेको छ भन्ने बारेमा आफुहरुला जानकारी आएको छैन् ।’ उहाँले स्थानिय विचको विवाद कै कारण गतबर्ष वडाबाट विनियोजन भएको वजेट समेत फ्रिज गएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस