रेडियो तहल्काको ट्रान्समिटर अज्ञात समुहद्वारा चोरी
प्रकाशित मिति : January 14, 2022
सल्यान ३०, पुस ।
सल्यानको खलंगाबाट प्रशारण हुदै आएको रेडियो तहल्का एफएमको ट्रान्समिटर चोरी भएको छ । बागचौर नगरपालिका ३ पुत्लीबासबाट रिले प्रशासन गर्दै आएको रेडियोको त्यही रिले स्टेसनबाट नै गएराति टान्समिटर चोरी भएको हो । बिहिवार राति सम्म प्रशारण गरेर बन्द गरेको रेडियोको ट्रान्समिटर शुक्रबार बिहान खोल्दा रेडियो नबजेपछि रिले स्टेसनमा जादा ट्रान्समिटर चोरी भएको पाइएको हो । स्टेसनको ढोका फोडेर ट्रान्समिटर मात्रै चोरी भएको रेडियोका स्टेशन म्यानेजर डिल्ली रावतले जानकारी दिनुभयो ।
ट्रान्समिटर चोरी हुदा करिब ५ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ । केहि बर्ष पहिले मात्रै जिल्लाको दार्मा र कुमाख गाउँपालिका सहित उत्तरपूर्वी क्षेत्रलाइ लक्षित गरेर रिले गरिएको थियो । यसैबीच इलाका प्रहरी कार्यालय थारमारेको प्रहरीले टोली रिले स्टेशनमा नै गएर मुचुल्का उठाएको छ ।