भुकम्प प्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड

सल्यान ३, माघ ।

सल्यानका सरोकारवालाहरुले भुकम्प प्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । भुकम्प प्रतिरोधि घर निर्माण गर्दा खर्च बढि लाग्ने सोचका कारण जिल्लाका नागरिकहरुले भुकम्प प्रतिरोधि घर निर्माणमा वेवास्ता गरिरहेकाले जनचेतना बढाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । ‘भूकम्पीय सचेतना : सुरक्षित संरचना’ भन्ने मुल नाराका साथ २४ औं भूकम्प सुरक्षा दिवसका अवशरमा जिल्ला प्रशासन कार्यालय सल्यानले आइतवार खलंगामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले जिल्लाका बजारीक्षेत्र सँगै ग्रामिण बस्तीहरु पनि भुकम्पको जोखिममा रहेकाले आवश्यक साबधानी अपनाउदैँ भुकम्प प्रतिरोधि संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । भुकम्प आएको समयमा भुकम्पले गरेको क्षती भन्दा मानवनिर्मित संरचनाले गरेको क्षती कयौँ गुणा बढी हुने भएकाले संरचना निर्माण गर्दा सबै निकाय गम्भिर बन्नुपर्ने उनीहरुको भनाइ छ । घरसँगै सरकारी कार्यालय, अस्पताल, बिद्यालय आदीका भवन निर्माण गर्दापनि भुकम्प प्रतिरोधि बनाउनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले भुकम्प प्रतिरोधि भौतिक संरचना निर्माण नगरे जुनसुकै बेला पनि ठुलो क्षति हुन सक्ने भएकाले अभियानकै रुपमा जनचेतना जगाउनुपर्ने बताउनुभयो । कम लागतमा पनि भुकम्प प्रतिरोधि घर निर्माण गर्न सकिने भएकाले मापदण्ड अनुसारका घर निर्माण गर्न स्थानिय सरकारले पहल गर्नुपर्ने उहाँको भनाइ छ । मापदण्डअनुसारका घर निर्माणका लागि नागरिकलाई प्रोत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘करिब ५ सय बर्षयता नेपालको पश्चिमी क्षेत्रमा ठुलो भुकम्प गएको छैन्, अहिले शक्ति सञ्चय भएर एक्कासी ठुलो भुकम्प आउन सक्ने सम्भावना पनि धैरै छ, यस्तो अवस्थामा भुकम्प प्रतिरोधि संरचना निर्माणमा सबैले जोड दिनुपर्छ’ उहाँले भन्नुभयो ‘भुकम्पले क्षती गर्नुपुर्व सबै सजक हुन जरुरी छ ।’ एकीकृत बस्ती बिस्तारको बेलामा भुकम्पले गर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर मात्रै संरचना निर्माण गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले हुलाक कार्यालयलाई भुकम्प प्रतिरोधि र अपांगमैत्री बनाउनको लागि संरचनागत सुधार गर्दै लगिएको बताउनुभयो । उहाँले भुकम्प प्रतिरोधि संरचना निर्माणका लागी जनचेतना कै आवश्यकता रहेकोमा जोड समेत दिनुभयो । विपद आउदा उद्धार र राहत तथा विपदपछि पुर्ननिर्माण र पर्नुवासका लागी व्यवस्थित रुपमा काम हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानिय तहका प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले गर्नुभएको थियो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउदैँ आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस