थपिदैँ कोरोना संक्रमित

कोरोना परिक्षणको दायरा बढाउदैँ लैजाने र खोप अभियानलाई थप प्रभावकारी बनाउने तयारी

सल्यान ४, माघ ।

सल्यानमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानहरुमा नागरिकहरुको भिडभाड बढेसँगै कोरोना भाइरसको जोखिम बढ्दै गएको हो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै माघ १५ गतेसम्म सबै बिद्यालय बन्द गरेको छ । तर बजार, उद्योग, यातायात लगाएतका बिभिन्न क्षेत्रहरुमा नागरिकहरुको भिडभाड कम नहुदाँ कोरोनाको जोखिम बढ्दै गएको छ भने दिनप्रतिदिन कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर कोरोनाका ६२ जना संक्रिय संक्रमित रहेका छन् । ती सबै होमआइसोलेसमा रहेका छन् । गत आइतवार देखी सोमवार सम्मको तथ्यांक हेर्ने हो भने पनि जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन् । गत आइतवार १३ जनाको एन्टिजेन परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै सोमबार ६ जनाको परिक्षण गर्दा ५ जनामा, मंगलवार ८ जनाको परिक्षण गर्दा ५ जनामा, बुधवार ७ जनाको परिक्षण गर्दा २ जनामा, बिहीबार २६ जनाको परिक्षण गर्दा ३ जनामा र शुक्रवार २ जनाको कोरोना परिक्षण गर्दा २ जनामा नै संक्रमण पुष्टि भएको थियो । यस्तै शनिवार परिक्षण र नयाँ संक्रमितको संख्या शून्य रहृयो भनेआइतवार ६५ जनामा परिक्षण गर्दा २५ जनामा र सोमवार २६ जनामा कोरोना परिक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा सबैभन्दा धेरै बागचौर नगरपालिकामा ३८ जना कोरोनाका संक्रिय संक्रमित रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकामा १३ जना, त्रिबेणी गाउँपालिकामा ५ जना, कपुरकोट गाउँपालिकामा ३ जना, कुमाख गाउँपालिकामा २ जना र बन्गाड कुपिण्डे नगरपालिकामा एक जना संक्रमित रहेका छन् ।

हाल छत्रेश्वरी, कालिमाटी, सिद्धकुमाख र दार्मा गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित नरहेको उहाँको भनाइ छ । ‘गत बैशाख देखी हालसम्म २ हजार ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ, ती मध्ये ५३ जनाको मृत्यु नै भैसकेको छ’ उहाँले भन्नुभयो ‘जिल्लामा कोरोनाको जाखिम बढ्दै गएको छ, परिक्षण गरेका आधा भन्दा बढीमा संक्रमण पुष्टि भैरहेको छ ।’ जिल्लामा नयाँ भेरियन्ट ओमिक्रोन भने नभेटिएको उहाँको भनाइ छ ।

४५ प्रतिशत नागरिकले लगाए पुर्णमात्रा खोप

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म जिल्लाका ४५ प्रतिशत नागरिकले पुर्णमात्रा खोप लगाएका छन् । १८ बर्ष उमेर माथिका ४५ प्रतिशत नागरिकले पर्णमात्रा र ५६ प्रतिशत नागरिकले पहिलोमात्रा खोप लगाएका छन् । यस्तै १२ देखी १७ बर्ष उमेर समुहका ९२ प्रतिशत वालवालिकाहरुले पहिलो मात्रा खोप लगाएका छन् ।

कोरोना परिक्षणको दायरा बढाउदैँ लैजाने र कोरोना बिरुद्धको खोप अभियानलाई पनि थप प्रभावकारी ढंगले सञ्चालन गर्न सकिएमा कोरोनाबाट बच्न सकिने सुचना अधिकारी डिसीले बताउनुभयो । ‘हामीले सबै स्थानिय तहमा कोरोना परिक्षण गर्ने व्यवस्था मिलाएका छौँ’ उहाँले भन्नुभयो ‘सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गर्ने सरकारले निर्णय गरेपछि कोरोना बिरुद्धको खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ ।’

जिल्ला अस्पताल सल्यानले अहिलेको अवस्थामा जिल्लाभर अक्सिजनको अभाव नहुने बताएको छ । जिल्ला अस्पतालमा ९० वटा अक्सिजन सिलिन्डर रिफिल गरेर राखिएको र केही अक्सिजन कन्सन्ट्रेटर समेत रहेकाले समस्या नहुने जनाएको छ । यस्तै आइसोलेसन लगाएतका अन्य तयारी गरिएपनि आवश्यक जनशक्ति अभाव रहेको बताइएको छ ।

सोधि–सोधि खोप लगाउन अनुरोध गर्दै आएका छौँ : सिडिओ आचार्य

प्रमुख जिल्ला अधिकारी बिपीन आचार्यले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्रको प्रयास आवश्यक रहेको बताउनुभएको छ । परिक्षणको दायरा बढाउदैँ खोप अभियानलाई तिव्रता दिन जिल्ला अस्पताल, सबै पालिका र मातहतका निकायहरुलाई निर्देशन दिइएको उहाँको भनाई छ । यस्तै जिल्ला प्रशासन सँगै अन्य सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सोधि–सोधि खोप लगाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

यसका लागि जिल्ला प्रशासन कार्यालय परिसरबाट नै खोप केन्द्र सञ्चालन गरिरहेको उहाँको भनाई छ । ‘२५ जना भन्दा बढी भेला नहुन, मास्क, स्यानिटाइजरको नियमित प्रयोग गर्न, साबुन पानीले बेला बेलामा हात धुन, भौतिक दुरी कायम गर्न लगाएत सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छौँ’ उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस