चार महिनासम्म पनि किसानले पाएनन् राहत

सात प्रतिशतले धान उत्पादनमा कमी

सल्यान ७, माघ ।

सल्यानको शारदा नगरपालिका ९ बागचौरका धन बहादुर कवरले बर्षौ पहिले देखी धान खेती गर्दै आउनुभएको छ । गत बर्ष मात्रै उहाँले तीस मुरी धान उत्पादन गर्नुभएको थियो । यसका कारण परिवारको लागि चामल किन्न बजार जानु परेन् । तर यस बर्ष धान उत्पादन घटेर आधामा झ¥यो । गत कार्तिक महिनामा परेको बेमौसमी बर्षाका कारण उहाँले लगाएको झण्डै ५ रोपनी खेतको धानमा क्षती ग¥यो ।

धान काटेर झाट्ने तयारी अवस्थामा रहेको बेला बर्षा हुदाँ आधा भन्दा बढी क्षती भयो । तर उहाँले अहिलेसम्म राहत पाउनुभएको छैन् । ‘राहत पाउने आसमा खेतको क्षेत्रफल, धानको उत्पादन, घटेको परिणाम लगाएतका बारेमा माथिल्लो निकायमा पठाउनको लागि स्थानिय जनप्रतिनिधिलाई विवरण टिपाएको थिए तर अझै राहत पाउन पाएको छैन्’ उहाँले भन्नुभयो ।

शारदा नगरपालिका ६ बरलाकी किसान बिमला केसीले पनि यस बर्ष ९ रोपनी बढी क्षेत्रफलमा धान खेती गर्नुभएको थियो । धान झाट्ने तयारीमा रहेको बेला बेमौषमी बर्षा भयो र ४ रोपनी क्षेत्रफलमा काटेको धान डुवानमा प¥यो । ‘काटेको धान खेतमा नै थियो, लगातार पानी परेपछि खेतमा नै धान उम्रियो’ उहाँले भन्नुभयो ‘जसका कारण यो बर्ष आधाले उत्पादन घट्यो ।’

धानको उत्पादन घटेपछि समस्या भएको उहाँको भनाइ छ । ‘बेमौषमी बर्षातले धानमा क्षती गरेपछि बर्षभरीको गर्जो कसरी टार्ने भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो ‘राहत पाउने आसमा विवरण टिपाएका थियौँ तर अहिले सम्म राहत पाएका छैनौँ ।’ उहाँले बर्षाले गरेको क्षती स्वरुप धानको वीउ मात्रै पाएपनि राहत हुने बताउनुभयो ।

कवर र केसी त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्तै सल्यानका हजारौँ किसानहरु राहत पाउने आसमा बसेको ४ महिना पुरा भएको छ । सरकारले धानमा भएको क्षतीको आधारमा केही राहत दिने उनीहरुको अपेक्षा थियो । तर बर्षाले क्षती गरेको चार महिना पुरा हुदाँ समेत स्थानिय, प्रदेश र केन्द्र सरकारले ठोस निर्णय नगर्दा किसान निरास बनेका छन् ।

कृषि बिकास कार्यालय सल्यानका सुचना अधिकारी रेशम कुमार बस्नेतले कार्तिक महिनामा परेको बेमौषमी बर्षाले धानमा गरेको क्षतीको विवरण माथिल्लो निकायमा पठाएको भएपनि राहत दिने वा नदिने भन्ने वारेमा कुनै जानकारी नआएको बताउनुभयो । सबै पालिका मार्फत प्राप्त तथ्यांक जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा पठाइएको उहाँले बताउनुभयो । तर अहिलेसम्म केही जानकारी प्राप्त नभएकाले राहत पाउने सम्भावना कम भएको उहाँको भनाइ छ ।

सात प्रतिशतले धान उत्पादनमा कमी

कृषि बिकास कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्षमा सात प्रतिशतले धान उत्पादन घटेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले धान उत्पादन घटेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।

गत आर्थिक वर्षमा २९ हजार ७ सय ९९ मेट्रिकटन उत्पादन भएको थियो । समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाई भएको भएता पनि बाली भित्र्याउने क्रममा लगातारको वर्षाका कारण उत्पादनमा कमी आएको कार्यालयले जनाएको छ ।

जिल्लामा यस बर्ष मकैको उत्पादन पनि घटेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा १ दशमलव २ प्रतिशतले मकै उत्पादन घटेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा ६८ हजार ४ सय ९३ मेट्रिकटन उत्पादन भएकोमा चालु आर्थिक वर्षमा घटेर ६७ हजार ७ सय ९० मेट्रिकटन मात्र उत्पादन भएको छ ।

 

प्रतिक्रिया दिनुहोस