बिद्यालय बन्द : पठनपाठन अन्यौलमा

कोरोनाको प्रभाव कम भएका जिल्लाहरुमा बिद्यालय बन्द गर्नु राम्रो होइन, सार्वजनिक स्थलमा नागरिकको भिडभाड बढिरहेको छ, एक्कासी बिद्यालय बन्द गरेर मात्रै कोरोना नियन्त्रण हुदैन् ।

तस्वीर : बामदेव केसी

सल्यान ९ माघ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण करिब तीन बर्षयता शैक्षिक क्षेत्र निकै प्रभावित बनेको छ । यो अवधिमा बिद्यार्थीहरुले मुस्किलले सात आठ महिना पनि बिद्यालयमा नियमित रुपमा पठनपाठन गर्न पाएका छैनन् । कोरोना संक्रमण बढ्न थालेपछि सल्यानका सबै बिद्यालयहरु फेरी बन्द भएका छन् ।

भौतिक उपस्थितीमा पठनपाठन शुरु भएको तीन चार महिना नहुदैँ बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु अन्यौलमा परेका छन् । लामो समयको निषेधाज्ञा पछि जिल्लाका बिद्यालयहरु असोज–कार्तिक महिनाबाट मात्रै नियमित रुपमा सञ्चालनमा आएका थिए । फेरी माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठन नगर्ने भन्दै शिक्षा मन्त्रालयले निर्णय गरेपछि बिद्यालयहरु बन्द भएका हुन् ।

यो समयमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले बताएपनि सल्यानमा भने त्यो सम्भव छैन् । जिल्लाका अधिकांश बिद्यालयमा अध्ययरनत बिद्यार्थीहरु प्रविधिको पहुँचमा छैनन् । नेत्रलाल बहुप्राविधिक शिक्षालयमा अध्ययनरत बिद्यार्थी मोहन डाँगीले गत बर्ष जस्तै यस बर्षको पढाइ पनि निकै प्रभावित भएको बताउनुभएको छ ।

‘गतबर्ष पनि कोरोनाका कारण बिद्यालय बन्द भयो, नेटको पहुँचमा हुनेले अन्लाइन कक्षा मार्फत सिकाइलाई निरन्तरता दिएपनि नेटको पहुँच बाहिर रहेकाले आधा कोर्ष पढेर परिक्षा दिन बाध्य भए’ उहाँले थप्नुभयो ‘यो बर्षपनि पोहोर कै अवस्था नहोला भन्न सकिन्न ।’ कोरोनाका कारण पढाइमा गुणस्तरीयता नहुदाँ भबिष्य अन्यौलमा परेको उहाँको भनाइ छ ।

दार्मा गाउँपालिका निवासी अभिभावक दिपेन्द्र बोहराले बिद्यालय बन्द हुदाँ बालबालिकाहरुको सिकाइलाई निरन्तरता दिन समस्या भएको बताउनुभयो । ‘माथिल्लो कक्षाका बिद्यार्थीहरुको लागि अन्लाइन कक्षा सञ्चालन पनि केही हदसम्म प्रभावकारी नै देखिन्छ, तर सानो कक्षाका बालबालिकाहरुको लागि चुनौती थपिएको छ, पढाइ भन्दा पनि अन्य कार्यमा उनीहरुको ध्यान केन्द्रित हुन्छ’ उहाँले भन्नुभयो ।

कोरोनाको प्रभाव मल्यांकन नगरेर देशैभरका बिद्यालय एकैपटक बन्द गर्दा शिक्षा क्षेत्र थप धरासायी बनेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो ‘अहिलेको सरकारको निर्णयले बिद्यार्थी र बिद्यालय मारमा परेका छन्, कोरोनाको प्रभाव कम भएका जिल्लाहरुमा बिद्यालय बन्द गर्नु राम्रो होइन, सार्वजनिक स्थलमा नागरिकको भिडभाड बढिरहेको छ, एक्कासी बिद्यालय बन्द गरेर मात्रै कोरोना नियन्त्रण हुदैन् ।’

कोरोनाका कारण बिद्यालय बन्द हुदाँ केही बिद्यालयहरुले भने वैकल्पिक विधिका बारेमा समेत सोच्न थालेका छन् । त्रिभुवन जन माद्यामिक बिद्यालय लुहापिङका प्रधानाध्यापक माधव बिक्रम जिसीले अन्लाईन कक्षा मार्फत माथिल्लो तहका बिद्यार्थीहरुलाई समेट्ने तयारी भैरहेको बताउनुभएको छ । यस्तै तल्लो कक्षाका बिद्यार्थीहरुको लागि पुर्व प्राथामिक शिक्षा अभ्यास पुस्तिका कार्यन्वयनमा लैजाने तयारीमा रहेको उहाँको भनाइ छ ।

तर जिल्लाका केही बिद्यालय भने वैकल्पिक माध्यमबाट सबै बिद्यार्थीहरुलाई समेट्न चुनौती रहेकोले के गर्ने भन्नेबारेमा अझै अन्यौलता रहेको जनाएका छन् । विगतमा गरिएका अभ्यासले पनि अन्लाइन तथा वैकल्पिक माध्यमबाट गरिएको पठनपाठन प्रभावकारी नभएको उनीहरुको भनाइ छ ।

सल्यान जिल्लाभर प्रावि, निमावि र मावि गरेर ४ सय ४३ वटा सामुदायिक बिद्यालय रहेका छन् भने ५१ संस्थागत बिद्यालय रहेका छन् । यस्तै जिल्लाभर झण्डै ६५ हजारको हाराहारीमा बिद्यार्थी रहेका छन् । शिक्षा बिकास तथा समन्वय ईकाइ सल्यानका प्रमुख लालबहादुर घर्तीले बिद्यालयहरुले बिद्यार्थी केन्द्रित योजना बनाएर कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ ।

‘अहिलेको अवस्थामा बिद्यार्थीहरुको सिकाइलाइ कसरी निरन्तरता दिने भन्ने बारेमा बिद्यालयको नै जिम्मेवारी बढी देखिन्छ, यसमा बिद्यालयले कार्ययोजना नै बनाउनुपर्छ, माघ १५ गते सम्म के गर्ने ? त्यसपछि पनि बिद्यालय बन्द भएमा के गर्ने ? यस बारेमा बिद्यालयले सोच्नुपर्छ’ उहाँले भन्नुभयो ‘घरमा रहेका बालबालिकाहरुको लागि अभिभावकहरुले पनि चासोका साथ ध्यान दिनुपर्छ ।’

अभिभावकहरुलाई बालबालिकाहरुलाई रचनात्मक कार्यमा बढी केन्द्रित गराउनुपर्ने उहाँको भनाइ छ । ‘आफ्नो बच्चाले पढ्यो कि पढेन, गृहकार्य गर्यो कि गरेन, कति बेला खायो, दिनभर केके गर्यो सबैकुरा अभिभावकले निगरानी गर्नुपर्छ’ उहाँले थप्नुभयो ‘ती बच्चाहरुलाई आफुसँगै घरायसी अन्य रचनात्मक कार्यहरुमा पनि लगाउनुपर्छ, जसका कारण बच्चाहरुको सिकाइ निरन्तर होस् ।’

 

 

प्रतिक्रिया दिनुहोस