सल्यानका ६ सय ४ जनाले लगाए बुस्टर डोज

 

सल्यान १०, माघ ।
सल्यानका ६ सय बढीले कोरोना भाइरस बिरुद्धको बुस्टर डोज लगाएका छन् । कोरोना भाइरस रोकथाम तथा न्युनिकरणको लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार गरेर ६ सय ४ जनाले खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले जिल्ला अस्पताल सल्यान, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सबै पालिकामा गरेर ६ सय ४ जनाले बुस्टर डोज लगाएको बताउनुभयो । यसअघि कोरोना भाइरस बिरुद्धको कोभिशिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाएका अग्रपंक्तिमा खटिनेहरुले खोप लगाउन थालेका हुन् ।

कोभिशिल्डको दोस्रो मात्रा लगाएको ६ महिना पछि बुस्टर डोज लगाउन स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयले आग्रह गरेको छ । जिल्लामा कोभिशिल्ड मात्रै प्राप्त भएकाले सोही खोपको बुस्टर डोज लगाउन थालिएको हो । स्वास्थ्य सेवा कार्यालयले कोरोना भाइरस बिरुद्धको खोप लगाउन छुटेका सबै नागरिकहरुलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस