सल्यानका उदय बहादुर बोहराको यात्रा [ हेडमास्टर हुदैँ राष्ट्रियसभा सदस्य ]

संघर्ष

सल्यान १४, माघ ।

सल्यानी राजनितिमा सबैले चिन्ने र राम्रो छवि बनाउनुभएका उदय बहादुर बोहराको बिं.सं. २०१३ सालमा त्रिबेणीको लुहाममा जन्म भएको हो । बोहरा सल्यानमा कम्युनिष्ट पार्टीको बिउ रोप्ने मध्येका एक भनेर चिनिने गर्नुहुन्छ । स्नातक तह अध्ययन पुरा गरेका उहाँ राजनिति र समाजसेवा दुबैमा सक्रिय हुनुहुन्छ ।

कम्युनिष्ट नेताको छवि बनाउनुभएका बोहरा शान्त र शालिन स्वभाव भएका त्यागी र संघर्षशिल नेताको रुपमा चिनिने गर्नुहुन्छ । दशकौँ बर्ष राजनितिमा समय बिताएका बोहरा नेताकार्यकर्ता र आमनागरिक सँग सजिलै घुलमिल हुने खुबि भएका नेताका रुपमा चिनिने गर्नुहुन्छ ।

उहाँ यही माघ १२ गते राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेश बाट अन्य खुल्ला तर्फ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले तीन हजार ६ मतभार पाउनुभएको थियो ।


२०३४ सालमा रोल्पाको थवाङ स्थित बिर बलभद्र माद्यामिक बिद्यालयमा अध्यापन मार्फत समाजसेवा थालेका बोहरा रुकुमको महतमा जनजागृति माद्यामिक बिद्यालयको २०३८ सालमा प्रधानाध्यापक बन्नुभयो । यस्तै २०५४ सालमा जिल्ला बिकास समिती सल्यानको सभापति समेत बन्नुभएका उहाँ २०६१ सालमा प्राकृतिक स्रोत तथा वातावरण सरोकार समुहको केन्द्रिय सचिव बन्नुभएको थियो । २०६८ सालमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सञ्चालक समिती सदस्य समेत बन्नुभएका बोहरा त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस अफ लाइफ साइन्सेस तुलसीपुर दाङमा २०७० साल देखी हाल सम्म अध्यक्षको रुपमा रहनुभएको छ ।

२०३४ सालमा नेकपा मालेको साधारण सदस्यबाट राजनिति समेत शुरु गर्नुभएका बोहरा २०४५ सालमा सल्यान जिल्ला पार्टी सक्रिय दल सदस्य हुदैँ २०४७ सालमा संगठित सदस्य र पार्टीको जिल्ला कमिटी सदस्य बन्न पुग्नुभयो । २०५१ सालको संसदिय निर्वाचनमा सल्यान क्षेत्र नं. २ बाट पराजित भएका बोहरा २०५५ सालमा नेकपा माले सल्यान जिल्ला कमिटी सचिव र राप्ती अञ्चल सचिव समेत बन्नुभएको थियो ।

२०५७ सालमा नेकपा एमाले अञ्चल कमिटी सदस्य हुदैँ राष्ट्रिय परिषद् सदस्य बन्नुभएका बोहरा २०६४ सालमा संविधान सभा सदस्य निर्वाचनमा भने सल्यान क्षेत्र नं. २ बाट पराजित हुनुभएको थियो । उहाँ एमालेको नवौँ महाधिबेशनमा राप्ती अञ्चल भूगोलबाट केन्द्रिय सदस्यमा उम्मेदवार बन्नुभएको थियो। हाल उहाँ नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य तथा पार्टीको सल्यान जिल्ला कमिटी अध्यक्ष समेत रहनुभएको छ ।

उहाँले हालसम्म भारत, भुटान, बंगलादेश, पाकिस्तान, सिंगापुर, इन्डोनोसिया, मलेसिया, थाइल्याण्ड, अष्ट्रेलिया र जापानको भ्रमण समेत गरिसक्नुभएको छ । –

 

प्रतिक्रिया दिनुहोस