सल्यान १६, माघ ।
नवनिर्वाचित राष्ट्रियसभा सदस्य उदय बहादुर बोहरालाई सल्यानमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानको आयोजनामा बामलोकतान्त्रिक गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ताहरुको सहभागितामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित राष्ट्रियसभा सदस्य बोहराले जनतालाई सर्वोपरी ठानेर जनताकै हितको लागि काम गर्ने बताउनुभएको छ । उहाँले यो वा त्यो बहाना बनाएर जनता र जिल्लावासीको लागि विचलित नभई निर्भिकताका साथ काम गर्ने बताउनुभयो । जिल्लाबासीका हरेक समस्याहरुको उजागर गर्दै बिकास निर्माणका लागि पहल गर्ने उहाँको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रिय उपमहासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस सल्यानका सभापति केश बहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुन, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर मल्लले बोल्नुभएको थियो ।
यस्तै पुर्व जिल्ला विकास समितिका सभापति धुर्वराज पुरी, शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी, सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउने, कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष सिता केसी लगाएतले बोल्नुभएको थियो । पार्टीका केन्द्रिय प्रतिनिधि परिषद सदस्य हरि केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव रमेश गौतमले गर्नुभएको थियो ।