राप्ती लोकमार्गको स्तरोन्नतिमा ढिलासुस्ती : नागरिकलाई सास्ती

सल्यान १७, माघ ।
राप्ती लोकमार्ग अन्र्तगत सल्यानको कपुरकोट–चोरखोला सडकखण्डको स्तरोन्नतिको काममा ढिलासुस्ती भएको छ । दैनिक रुपमा सयौँ सवारीसाधनहरुमा यात्रा गर्ने हजारौँ यात्रुहरुले जीर्ण सडककै कारण सास्ती पाउदैँ आएका छन् । सडकको स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले समेत बेलैमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

२०७७ चैत महिनामा सडक डिभिजन कार्यालय दाङले श्याम/शंकर एण्ड एन्जिला÷आकांक्षा जेभी सुर्खेतलाई करिब ९ करोड रुपैयाँमा सडक स्तरोन्नतिको जिम्मा दिएको थियो । मंसिर महिनामा ठेक्का लगाएपनि चैत महिनामा मात्रै सम्झौता हुदाँ चैत अन्त्यबाट कामको शुरुवात भएको थियो । तर छ महिनामा काम सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार काम सम्पन्न भएन् ।

सरकारले कोरोनाका कारण रोकिएका निर्माणका कार्यहरुलाई सम्पन्न गर्नको लागि थप छ महिनाको सम्झौता गर्ने निर्णय ग¥यो । सोही अनुसार यस सडक स्तरोन्नतिको काम पनि यही चैत ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । तर अहिलेसम्म करिब ७० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । कपुरकोट क्षेत्रको ८५ प्रतिशत काम सकिएको भएपनि चोरखोला क्षेत्रको ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

सडक डिभिजन कार्यालय दाङका निमित्त डिभिजन प्रमुख ईन्जिनियर रिकेश महर्जनले सम्झौता अनुसार नै काम सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गरिएको बताउनुभएको छ । ‘जतिसक्दो चाँडो काम सम्पन्न ताकेता गर्दै आएका छौँ, थप गरिएको म्याद चैत ३० गते सम्म हो’ उहाँले भन्नुभयो ‘भौगोलिक बनावट, बर्षात लगाएका कारण स्तरोन्नतिको काममा केही ढिलाइ भएको छ ।’

फेरी दैनिक ७ घण्टा सवारी आवगमन बन्द
राप्ती लोकमार्ग अन्र्तगत सल्यानको कपुरकोट देखी दाङ तुलसीपुर सडकखण्ड दैनिक सात घण्टा सवारी आवगमन बन्द भएको छ । माघ १६ गते आइतवार देखी माघ २५ गते सम्म दैनिक सवारी आवगमन बन्द भएको छ । यस अघि पनि पटक–पटक सवारी आवगमन बन्द गरी सडक स्तरोन्नतीको काम भएकोमा फेरी समय थप गरिएको हो । यस सडकखण्ड दैनिक विहान ७ बजेदेखी ९ बजे सम्म र विहान ११ बजेदेखी साँझ ४ बजे सम्म सवारी आवगमनमा रोक लगाइएको छ ।

दुई–दुई दिनमा कामको रिपोर्टिङ गर्न भनेका छौँ : सिडिओ आचार्य
सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कपुरकोट–चोरखोला सडकखण्डमा स्तरोन्नतिको काम तत्काल सम्पन्न गर्नेगरी अघि बढाउन निर्माण व्यवसायिलाई भनेको बताउनुभएको छ । आफुले त्यस क्षेत्रको स्थलगत अवलोकन समेत गरेको बताउदैँ उहाँले भन्नुभयो ‘सडक स्तरोन्नतिको काम गर्न भूगोलका कारण केहि कटिन छ, तर यो वा त्यो बहानामा नागरिकलाई सास्ती दिनुहुदैन्, काम जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ ।’

उहाँले सडकको स्तरोन्नतिको काम दश दिनको लागि दैनिक ७ घण्टा सवारी आवगमन बन्द गरेर गर्न अनुमति दिएको बताउनुभयो । तर यो बिचमा स्तरोन्नति कार्यको प्रगतिको बारेमा दुई–दुई दिनमा रिपोर्टिङ गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । यसबेला हलुका सवारी साधनहरुले कपुरकोट–पैयाँखोर डाइभर्सनको प्रयोग गरेर आवतजावत गर्न भनिएको छ ।

सम्झौता अगावै काम सम्पन्न हुन्छ : निर्माण व्यवसायि
कपुरकोट–चोरखोला सडकखण्डमा स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनिका प्रतिनिधि लोकेन्द्र खड्काले सम्झौता अगावै स्तरोन्नतिको काम सम्पन्न गर्ने बताउनुभएको छ । ‘पहिले कोरोनाका कारण काम हुन सकेन्, जेठअसार देखी नै बर्षातका कारण लामो समय काम रोकियो’ उहाँले भन्नुभयो ‘यो विचमा जति काम हुनुपथ्र्यो त्यो हुन सकेको छैन्, तर सम्झौता अगावै स्तरोन्नतिको काम सम्पन्न हुन्छ ।’

उहाँका अनुसार एक लाख घनमिटर कटिङ गर्नुपर्नेमा अब करिब ३० हजार घनमिटर कटिङको काम बाँकी रहेको छ । भौगोलिक विकटता, पहिरो तथा सुख्खा पहिलो, कतै कडा चट्टान लगाएतका कारण काम गर्न केही समस्या भएको उहाँको भनाइ छ । अहिलेपनि कार्यस्थलमा २ वटा स्काभेटर सहित जनशक्ति परिचालन भएको र तत्काल अर्को स्काभेटर थप गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो ।

प्रशासनले अहिले दिएको दश दिनको अवधिमा कपुरकोट क्षेत्रको काम सम्पन्न हुने र चोरखोला क्षेत्रमा थप कामको शुरुवात गरिने बताईको छ । यस वर्ष कपुरकोटदेखि खारासम्मको सडक मर्मतमा थप २३ करोड ३० लाख रुपैयाँ विनियोजन भएको जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस