सल्यान १८, माघ ।
सल्यान जिल्लामा नै पहिलो पटक शव वाहन सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्लामा शव वाहन नहुँदा नागरिकलाई सास्ती भैरहेको अवस्थामा जिल्ला अस्पताल सल्यानले एक वटा शव वाहन खरिद गरेर सञ्चालन गर्ने तयारी गरेको हो । शव वाहन खरिद सम्बन्धि प्रस्ताव आह्वान गरिसकेको छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षको वजेट मार्फत जिल्लामा शव वाहन खरिद गरेर सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार शव वाहन खरिदका लागि प्रदेश सरकारले जिल्ला अस्पताल सल्यानलाई १२ लाख रुपैँया पठाएको छ । ‘जिल्लामा शव वाहन नहुदाँ जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरूको मृत्यु हुँदा निजी सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकलाई सास्ती हुने गरेको थियो’ उहाँले भन्नुभयो ‘अव शव वाहन सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज हुने अपेक्षा गरेका छौँँ ।’
उहाँले अवको करिब दुइ महिना भित्रमा शव वाहन सञ्चालनमा आउने बताउनुभयो । यस्तै जिल्ला अस्पतालले नयाँ एम्बुलेन्स समेत खरिद गर्न लागेको छ । अस्पतालमा भएको पुरानो एम्बुलेन्स बिग्रिएको बर्षौ हुदाँ समेत नयाँ खरिदका लागि ढिलाई हुदाँ समस्या हुने गरेको थियो । अहिले भने कर्णाली प्रदेश सरकारकै २० लाख रुपैँया बजेटबाट नयाँ एम्बुलेन्स खरिद गर्न लागिएको अस्पतालले जनाएको छ ।
जिल्लामा दर्जन बढी एम्बुलेन्स सञ्चालनमा आउदाँ एउटा पनि शववाहन नहुदाँ समस्या हुने गरेको छ ।